×

फाइल तस्विर ।

वीरगञ्ज, ६ वैशाख । वर्तमान सत्ता साझेदार दलहरुले गठबन्धन गरेर आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने लगभग सहमति गरिसकेका छन् । मंगलबार बसेको गठबन्धनको बैठकले वीरगञ्जसहित देशका ६ वटै महानगरपालीकामा भागबन्डा लगाएका छन् । पोखर महानगरपालिका नेकपा एसले पाएपछि गठबन्धनको विवाद अन्त्य भएको हो ।

सहमतिअनुसार मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको प्रमुख जनता समाजवादी पार्टी (जसपा) र उपप्रमुख नेपाली काङ्ग्रेसले पाउने भएको छ ।

अघिल्लो निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल (हाल जसपा) को उम्मेदवारले वीरगञ्ज महानगरपालिकामा जितेको कारण मेयर जसपाको पोल्टोमा परेको हो । नेपाली काङ्ग्रेसलाई यस पटक उपमेयर पद लिएर सन्तुष्ट हुनुपर्ने अवस्था आएको छ । 

महानगरपालिकामा गठबन्धन भएपनि वडास्तरमा गठबन्धन नहुने नेताहरुले बताएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद् प्रदीप यादव महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धन भएपनि वडा स्तरमा गठबन्धन नहुने बताउँछन् । केन्द्रले वडास्तरमा हस्तक्षेप नगर्ने उनको दावी छ । 

‘महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धन हुने निर्णय भएको छ । वडास्तरमा गठबन्धन गर्ने निर्णय स्थानीय स्तरका नेतालाई दिइएको छ,’ यादवले यात्राडेलीसँगको टेलिफोन संवादमा भने, ‘आवश्यकता अनुसार गठबन्धनमा जान सक्छौं, तर नभएको ठाउँमा गर्दैनौँ । केन्द्रले यसमा हस्प्तक्षेप गर्दैन ।’

जसपाबाट वीरगञ्ज महानगरपालिकाको लागि मेयरका आकांक्षी राजेशमान सिंहले पनि वडास्तरमा गठबन्धन नहुने बताए  । ‘वडामा गठबन्धन हुँदैन,’ सिंहले भने, ‘हाम्रो पार्टीबाट वडा अध्यक्षका आकांक्षीहरुले आफ्नो तयारी गर्दा हुन्छ । गठबन्धनको चिन्ता लिनु पर्दैन ।’

यता नेपाली काङ्ग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री अहीले पनि गठबन्धन नहुने आफ्नो अडानमा कायम छन् । उनले केन्द्रले गठबन्धनको आधिकारीक निर्णय अहिलेसम्म नगरेको बताउँदै भने, ‘गठबन्धन भएको छैन । आधिकारीक निर्णय नआएसम्म मैले केहि भन्न मिल्दैन ।’ 

नेपाली काङ्ग्रेस सुरुदेखि जिल्लामा गठबन्धन गर्ने पक्षमा छैन । काङ्ग्रेसको नगरदेखि जिल्ला समितिले पर्सामा कुनैपनि दलसँग गठबन्धन नगर्ने दोहोर्याउँदै आएको छ ।  वैशाख ३ गते जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवसँग मिलेर काङ्ग्रेस पर्साले एउटा प्रेस विज्ञप्ति नै जारी गरेर पर्सा जिल्लामा गठबन्धन नगर्ने जनाएको थियो । यद्दपी, गठबन्धन भएपनि महानगरको प्रमुख र उपप्रमुख पद बाहेक वडा स्तरमा गठबन्धन नहुने काङ्ग्रेसी नेताहरुले बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा जसपाको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुशील कुमार कानुले पनि महानगरमा वडास्तरीय गठबन्धन नहुने जनाकारी दिए । पार्टीले महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धन गर्ने निर्णय गरेको बताउँदै उनले भने, ‘वडास्तरमा सबै दलबीच मित्रवत् प्रतिश्पर्धा हुन्छ । गठबन्धन मेयर र उपमेयर पदका लागि भएको छ । हामी वडाका उम्मेदवारहरुले आफ्नो तयारी त्यसै अनुसार गरिरहेका छौं ।’ 

सत्ता गठबन्धनले महानगर भागबन्डाको विवाद टुङ्गो लगाएसँगै वीरगञ्जमा दुईपक्षीय प्रतिश्पर्धा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोसपाले पनि गठबन्धन गरेर वीरगञ्जमा चुनाव लड्ने बताएका छन् । हालसम्म वीरगञ्ज महानगरको मेयर पदका लागि जसपाबाट राजेशमान सिंह र नेकपा एमालेबाट वर्तमान मेयर विजयकुमार सरावगीको नाम अगाडि आएको छ । 

गठबन्धनको विवादका कारण कुनैपनि दलले उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको थिएन । उपमेयरमा लोसपाबाट जिल्ला अध्यक्ष पुरुषोत्तम झा र रम्भा मिश्राको नाम अगाडि आएको छ भने काङ्ग्रेसबाट अहिलेसम्म कसैको नाम अगाडि आएको छैन ।

Back to top