वीरगञ्ज ५ बैशाख । पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् ।
साहले प्रयोग गर्दै आएको ना. १ झा १६६१ नम्बरको स्कर्पियो गाडी फिर्ता गरेका हुन् ।
सोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका छन् ।
आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने साह पर्सा जिल्लाका पहिलो जनप्रतिनिधि भएका छन् । उनि बाहेक अहिलेसम्म कसैले पनि गाडी फिर्ता गरेको छैन ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन केन्द्रित कार्यक्रममा गाडीको दुरुपयोग हुने सम्भवाना भएको हुँदा आफूले गाडी फिर्ता गरेको साहले बताए ।
यात्राडेलीले आज मात्रै वीरगञ्जसहित पर्साका जनप्रतिनिधिले फिर्ता गरेनन् गाडी, नैतिकताको आधारमा फिर्ता गर्नुपर्ने स्थानीयको सुझाव भन्ने शिर्षकमा समाचार बनाएको थियो ।
जिल्लाको एक महानगरपालिका, दुई नगरपालिका र १० गाउँपालिकाका जनप्रतिनिधिहरुले अहिलेपनि गाडी फिर्ता गर्न बाँकी रहेको छ ।