वीरगञ्ज, ५ बैशाख । स्थानीय तहको निर्वाचनमा जम्मा २५ दिन बाँकी रहँदासमेत पर्साका जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गरेका छैनन् ।
जिल्लाको एक महानगरपालिका, तिन नगरपालिका र १० गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएको सवारीसाधनहरु फिर्ता गरेका छैनन् ।
मधेश प्रदेशको अन्य जिल्लामा जनप्रतिनिधिहरुले चुनाव केन्द्रित गतिविधिमा सरकारी गाडीको दुरुपयोग नहोस भन्ने उद्देश्यले आ-आफ्नो पालिकाबाट प्राप्त गरेको गाडी लगायतका सवारीसाधन फिर्ता गरिहेका बेला पर्साका जनप्रतिनिधिहरुले त्यस्तो नगरेका हुन् ।
यसरी निर्वाचनको मिति निकट रहेको बेला पनि जनप्रतिनिधिहरुले सवारीसाधन फिर्ता नगर्दा त्यसको दुरुपयोग हुने सम्भवाना हुन्छ । सरकारी गाडीहरु चुनावी कार्यक्रममा प्रयोग गर्ने गरेको कयौँ उदाहरणहरु छन् । जनप्रतिनिधिहरुले नैतिकिताको आधारमा भएपनि सवारीसाधन फिर्ता गर्नुपर्ने स्थानीय युवा शशिकान्त सर्राफको बुझाइ छ । “निर्वाचन नीजक छ । जनप्रतिनिधिहरुलाई अलिकति पनि लाज छ भने उनिहरुले नैतिकिताको आधारमा सवारीसाधन फिर्ता गर्नुपर्छ । तर यहाँका जनप्रतिनिधिहरुस लाज छैन । करोडौँको गाडी आफ्नो निजि गाडी जस्तो चलाइरहेका छन् ।”
निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ता अगाडिसम्म जनप्रतिनिधिले गाडी प्रयोग गर्न मिल्छ । मनोनयन दर्ता पश्चात सरकारी गाडी प्रयोग गरे पाईए कारवाही हुने जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जिता झा बताउँछिन । यद्दपी नैतिकताको आधारमा उनीहरुले गाडी फिर्ता गर्नुपर्ने गाडी फिर्ता गर्नुपर्ने स्थानीयहरुको बुझाइ छ ।
पर्साका सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधिले आफ्नो प्रयोगको लागि सवारीसाधन खरिद गरेका छन् । त्यसमध्ये सबैभन्दा महँगो गाडी खरिद गर्ने वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी हुन् । निर्वाचित भएर आउँदा महानगरबाट कुनैपनि सेवासुविधा र सवारीसाधन नलिने भनेर घोषणा गरेपनि उनले एकवर्ष भित्रै करोडौँ पर्ने पजेरो गाडी खरिद गरेका थिए । आफ्नै अडानमा कायम नरहेपछि उनको अहिलेसम्म आलोचना हुन्छ ।
त्यसैगरी पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले पनि आफ्नो लागि स्कर्पियो गाडी खरिद गरेका थिए । उनीहरुले पनि हालसम्म गाडी फिर्ता गरेका छैनन् । त्यस्तै ठोरी गाउँपालिका बाहेक जिल्लाका अन्य ९ वटा गाउँपालिकाका प्रमुखले पनि आफ्नो प्रयोगको लागि विभिन्न चार पांग्रे गाडी खरिद गरेका थिए । उनीहरुले पनि गाडी फिर्ता गरेका छैनन् ।