वीरगञ्ज, ४ वैशाख । बिस वर्षमा नभएको विकास साढे ४ वर्षमा गरेर देखाएको छु भनेर दावी गर्ने वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आज आफै वीरगञ्जमा विकासको आधारभूत कामसमेत नहुन सकेको स्वीकार गरेका छन् ।
वीरगञ्ज महानगरपालिकामा ठूलाठूला पूर्वाधार निर्माणदेखि हजारौं युवालाई रोजगारी, सरसफाईमा ठूलो उपलब्धि, ट्राफिक व्यवस्थापन र सडक निर्माण जस्तो काम गरेर देखाएको दावी गर्दै हिँडेका मेयर सरावगीले आज स्वयंले आधारभूत कामसमेत नहुन सकेको स्वीकार गरेका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई मतदान दिन आग्रह गर्दै मेयर सरावगीले शनिबार एउटा १० बुँदे प्रतिबद्धता पत्र जारी गरेका छन् । प्रतिबद्धता पत्रमा उनले आफू वीरगञ्जको मेयरमा पुन: निर्वाचित भएर आए यहाँ विकासका आधारभूत कामहरु गर्ने उल्लेख गरेका छन् ।
सरावगीले वीरगञ्जका विद्यालयहरुलाई अनिवार्य अंग्रेजी माध्यम र गुणस्तरीय बनाउने, भेडाह खोलामा बाँध निर्माण गर्ने, फोहोर मैलाको उचित व्यवस्थापन गर्न, निर्माणलाई धप व्यवस्थित गर्ने, सडकको सञ्जाल विस्तार गर्ने, टोल-टोलमा नाला निर्माण र पानीको निकासको व्यवस्था गर्ने, प्रत्येक वडामा ट्रान्सपोर्ट, तरकारी बजार, कृषि हाट बजार, खेलमैदान, निर्माण गर्न, ट्राफिक व्यवस्थापनलाई कडाईका साथ कार्यान्वयनमा ल्याउने, बेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन नगरपालिकाद्वारा तथ्यांक संकलन गरी निर्व्याजी कर्जा उपलब्ध गराउने जस्ता प्रतिबद्धताहरु जनाएका छन् । उनले जनाएका प्रतिबद्धताहरुमा अधिकांस आधारभूत कामहरु छन् ।
साढे ४ वर्षसम्म वीरगञ्ज महानगरको मेयर रहेका सरावगीले यस्ता आधारभूत कामसमेत गर्न नसकेको उनकै प्रतिबद्धता पत्रबाट प्रष्ट हुन्छ । प्रतिबद्धता पत्र जारी गरेर सरावगीले यो कुरा आफैले स्वीकार पनि गरेको बुझ्न सकिन्छ । साथै यसले मेयर सरावगीको साढे ४ वर्षको कार्यालय पनि असफल रहेको प्रमाणित हुन्छ ।
प्रतिबद्धताहरु घोषणा गरेपछि सामाजिक सञ्जालमा पनि सरावगीको आलोचना भइरहेको छ । सञ्जाल प्रयोगकर्ताहरुले उनिसँग पहिले साढे ४ वर्षमा गरेको कामको हिसाबकिताब मागेका छन् । ‘मेयर साब पाँच वर्षमा के गर्नु भयो तपाईंले पहिला त्यसको हिसाबकिताब दिनुहोस,’ स्थानीय बब्लु चौरसियाले लेखेका छन्, ‘पाँच वर्ष अघिको वीरगञ्जलाई बर्बाद पारिसक्नुभयो । वीरगञ्ज जति पहिला राम्रो थियो अहिले त्यस्तो छैन । पाँच वर्षमा वीरगञ्जलाई लुलो बनाइदिनु भएको छ । अर्को पटक जित्नुभयो भने वीरगञ्जलाई नेपालको नक्साबाट नै गायब गरिदिनु हुन्छ ।’ त्यसैगरी अर्का प्रयोगकर्ता आनन्द गुप्ताले लेखेका छन्, ‘अब हजुरको दाल गल्ने वाला छैन तपाईं कतिको ईमानदार हुनुहुन्छ जनताले थाहा पाइसकेको छ मेयरजी ।’
सरावगीले यसअघि को निर्वाचनमा पनि ‘मेरो कसम’ को नामले प्रतिबद्धता पत्र जारी गरेका थिए । जनताले उनिसँग मेरो कसमको सन्दर्भमा पनि प्रश्न गरिरहेका छन् । घोषणा पत्रमा उनले उल्लेख गरेको काममध्ये ५ प्रतिसत कामसमेत नभएको स्थानीयहरुको गुनासो छ । यद्दपी सरावगीले उल्लेख गरिएको ८० प्रतिसत काम सम्पन्न भएको विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा दावी गरेका छन् । तर उनको दावी पत्याउने खालको छैन ।
घोषणा पत्रमा उल्लेख भएका ८० प्रतिसत काम भएको भए आज वीरगञ्जको कायापलट भइसकेको हुन्थ्यो । यद्दपी वीरगञ्जमा जावो नालाको ढल समेत राम्ररी व्यवस्थापन नहुन सकेको अवस्था छ । अन्य प्रतिबद्धता पूरा हुनु धेरै टाढाका कुरा हुन् । सरावगीले बरु आफ्नो प्रतिबद्धता विपरित धेरै कामहरु गरेका छन् । उदाहरणका लागि मेयर निर्वाचित भएलगतै उनले महानगरबाट पाउने तलव, अन्य सेवा सुविधा र सवारीसाधन नलिने वाचा गरेका थिए तर कार्यकाल सम्भालेको एक वर्ष भित्रै उनले करोडौँ मूल्य पर्ने पजेरो गाडी खरिद गरे । महानगरमा सामान्य गाडीबाट काम चल्ने अवस्था भएपनी उनले पजेरो गाडी खरिद गरेर करदाताको करोडौँ रुपैयाँ अनावश्यक रुपमा खर्च गरेका छन् ।
उनले वीरगञ्जमा भूमिगत नाला निर्माण, बस पार्क निर्माण, फोहर व्यवस्थापन र प्रसोधन केन्द्र निर्माण जस्ता ठूलाठूला कामहरु आफुले गरेको दावी गर्ने गरेका छन् । तर वास्तवमा यी सबै कामहरु उनि मेयरमा निर्वाचित भएर आउनुअघिदेखि सञ्चालनमा थिए । कामहरु कार्यकालमा सम्पन्न मात्र भएका हुन् । त्यसमध्ये सम्पन्न भएका भूमिगत नाला र बस पार्क निर्माण पूर्ण रुपले असफल छन् । वीरगञ्जको मूख्य बजार क्षेत्रमा हुने डूबानको समस्यालाई समाधान गर्ने उद्देश्यले बनाईएको भूमिगत नालाले गर्दा उल्टै वीरगञ्जको बजार क्षेत्रमा डुबान बढेको छ भने बस पार्कमा बनेको टर्मिनल प्रयोगबिहिन अवस्थामा खण्डरमा परिणत भइरहेको छ ।
त्यस्तै घोषणा पत्रमा सरावगीले विभिन्न १४ वटा वर्ग छुट्याएर प्रत्येक वर्गको ३ देखि १४ वटा बुँदालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । तर, कार्यकाल सकिनै लाग्दासम्म उनको प्रतिबद्धता कागजमै सीमित भएका छन् ।
‘मेरो कसम’ मार्फत उनले आफ्नो कार्यकाल विशेषगरी ‘५ ब’ अर्थात् बेरोजगारी अन्त्य, बाटो, विद्यालय, बिजुली र बैंक क्षेत्रमा काम गर्ने बताएका उनले । दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रेपछि विद्यालयहरुलाई अनिवार्य अंग्रेजी माध्यम र गुणस्तरीय बनाउने बताइरहेका छन् ।
सरावगीले महानगरपालिकाबाट वीरगञ्जका पाँच हजार युवाले रोजगारी पाएको विभिन्न सञ्चारमाध्यममा बताउने गरेका छन् । तर त्यस्तो केही नभएको स्थानीयहरुको गुनासो छ । बेरोजगारी अन्त्यको लागि सरावगीले यस पटकपनि युवाहरुलाई निर्व्याजी कर्जा उपलब्ध गराउने बताएका छन् । तर, उनि स्वयंले निर्व्याजी कर्जा उपलब्ध गराउनु महानगरपालिकाको अधिकार क्षेत्र बाहिर रहेको एउटा स्थानीय सञ्चारमाध्यालाई अन्तर्वार्ता दिँदै बताएका थिए । सरावगीको एउटा प्रतिबद्धता उनले सरासर झुट बोलिरहेको यसले स्पष्ट हुन्छ ।
व्यापारिक पृष्टभूमिबाट राजिनितीमा आएका सरावगी अघिल्लो निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट १९ हजार ३९३ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । मधेश प्रदेशको एक मात्र महानगरको मेयरका रुपमा उनको साढे ४ वर्षको कार्यकाल विवादित रह्यो । काम गर्न नसकेपछि उनले मुख्यतः प्रदेश र सङ्घ सरकारलाई दोष लगाएर आफ्नो कार्यकाल बिताएको स्थानीय बताउँछन् ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि उनि जसपा त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । सुरुमा काङ्ग्रेस जान खोजेपनि उनलाई त्यहाँका नेताले रिजेक्ट गरेका थिए । अन्त्यमा कुनै विकल्प नबचेपछि उनि एमालेबाट यस पटक चुनाव लड्दै छन् ।
उनका प्रतिद्वन्द्वीका रुपमा हालसम्म जसपाबाट राजेशमान सिंह अगाडि आएका छन् । सिंह अधिल्लो निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयरमा उठेका थिए । १२ हजार १६५ मत ल्याएर तेस्रो भएका उनि यस पटक आफू पहिलो हुने दावी गरिरहेका छन् । काङ्ग्रेस भित्र धेरै आकांक्षी भएको कारण पार्टीलाई उम्मेदवार टुङ्गो लगाउन सकस भइरहेको छ । वीरगञ्जमा अन्य सदलहरुको त्यस्तो राम्रो पकड छैन । त्यसैले पनि यहाँ त्रिपक्षीय भिडन्त हुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।