×

वीरगञ्ज, २६ चैत । जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्ज महानगरपालिकाको मेयरको आधिकारीक उम्मेदवार राजेशमान सिंह रहेको जनाएको छ ।

जसपा वीरगञ्ज महानगर कमिटीले शुक्रबार एउटा सूचना जारी गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरको आधिकारीक उम्मेदवार राजेशमान सिंह रहेको जनाएको हो ।

स्थानीय केही सञ्चारमाध्यमहरुले यस विषयमा भ्रम सृजना गर्न खोजेपछि पार्टीको महानगर कमिटिले सूचना जारी गर्दै राजेशमान आधिकारीक मेयरको उम्मेदवार भएको बताउनु परेको छ । महानगर कमिटिका अध्यक्ष इश्वर चन्द्र यादवले जारी गरेको सूचनामा राजेशमान सिंहलाई वीरगञ्जबाट मेयरको उम्मेदवारको रुपमा सिफारिस गरिएको जनाएका छन् ।

त्यसैगरी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले पनि वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार राजेशमान सिंह भएको जनाएका प्रतिक्रिया दिएका छन् । यात्राडेलीसँगको कुराकानीमा नेता मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी (जसपा) का उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राउतले राजेशमान नै पार्टीका निर्विकिल्प उम्मेदवार भएको बताए । 

लिखित रुपमा अहिले नभए पनि मौखिक रुपमा कार्यसमितिदेखि अन्य नेता एवम् कार्यकर्ताहरु पनि सहमत भइसकेकाले राजेशमान नै उम्मेदवार भएको मुख्यमन्त्री राउतको भनाई छ । केही दिनभित्रै प्रक्रिया पुरा गरेर आधिकारीक रुपमा राजेशमानली नै उम्मेदवार घोषणा गर्ने तयारी पनि भइरहेको राउतले बताए । 

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले पनि यात्रा डेलीसँग कुराकानी गर्दै राजेशमान नै निर्विक्लप उम्मेदवार भएको बताए । उनले भने, ‘अहिले केही विरोधीहरुले विभिन्न भ्रम फैलाएपनि राजेशमान सिंह जी नै हाम्रा उम्मेदवार हुनुहुन्छ ।’ 

जसपाले गएराति वीरगञ्ज-२४ रामगढवामा आयोजना गरको रात्रीसभामा पनि सांसद् यादवले राजेशमान सिंह वीरगञ्ज महानगरको मेयरमा निर्विकल्प रहेको बताए । उनले पार्टीका केन्द्रीय अध्यक्षदेखि अन्य प्रमुख नेतासमेतले यसमा सहमति जनाइसकेको बताएका थिए ।

राजेशमान भर्खरै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर जसपामा प्रवेश गरेका नेता हुन् । त्यसअघि उनले बालकोट पुगेर केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमालेमा प्रवेशको तयारीमै रहेका राजेशमान अन्ततः जसपामा प्रवेश गरेर मेयरको उम्मेदवार बन्न लागेका हुन् ।

Back to top