वीरगञ्ज, १६ चैत । कांग्रेस पर्साको १४ औँ अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्यसमितिले पार्टीमा एकलौटी ढंगले निर्णय गरेको आरोप लगाउँदै पूर्व जिल्ला कार्यसमितिका सदस्यहरुले असहमति जनाएका छन् ।
सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साका नवनिर्वाचित पदाधिकारीहरुले बैठक मार्फत गठन गरेको कार्य सम्पादन समिति र संदसिया समिति प्रति पूर्व जिल्ला सचिव श्याम पटेलले असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टीको विधानअनुसार समितिहरु गठन नभएको आरोप लगाउँदै पूर्व जिल्ला सचिव श्याम पटेलले असन्तुष्टि व्यक्त गरेका हुन् ।
जिल्लामा कार्य सम्पादन समिति र संसदीय समिति गठन गर्दा बैठकमा जिल्ला कार्यसमितिका पूर्व पदाधिकारी र सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई राख्नुपर्ने विधानमा नियम भएपनि नव निर्वाचित समितिले त्यस्तो नगरेको भन्दै यात्राडेलीसँगको कुराकानी पटेलले असन्तुष्टि व्यक्त गरे । उनले नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले हैकमवादी तरिकाले पार्टीलाई चलाउने खोजेको आरोपसमेत लगाए ।
पटेलका अनुसार नेपाली कांग्रेसको विधानमा कमिटिहरु गठन गर्दा बैठकमा पार्टीका वरिष्ठ पदाधिकारी, पूर्व कार्यसमिति सदस्य र सभापतिका निकटतम प्रतिद्विन्द्वीलाई अनिवार्य रुपले सहभागी गराउनु पर्ने हुन्छ । तर आफू जिल्ला बाहिर रहेको मौका छोप्दै नवनिर्वाचित जिल्ला कार्यसमितिले चोर बाटोबाट समितिहरु गठन र विभिन्न निर्णय गरेको उनले बताए ।
“जिल्लाका पदाधिकारीहरुलेनै विधानलाई मिचेर पूर्व कार्यसमितिका सदस्यहरुलाई बाइपास गर्दै समिति गठन गर्दा पार्टी भित्र अहिले पनि गुठबन्दी जीवित रहेको प्रमाण दिरहेका छन्,” पटेलले यात्राडेलीसँगको टेलिफोन संवादमा भने, “पार्टीलाई यसरी एकलौटी ढंगबाट हैकमवादी तरिकाले चलाउँदा कांग्रेसलाई ठूलो क्षति हुन् सक्छ । उहाँहरुले यो कुरा बुझ्नु भइरहेको छैन ।”
स्थानीय तहको निर्वाचन नजिकै रहेको बेला पार्टीले विधान विपरित पार्टीको एउटा ठूलो समूहलाई वाइपास गर्दा त्यस्तो असर मतगणनामा देखिने पटेलको भनाई छ । विगतका निर्वाचनहरुबाट जिल्लामा कमजोर रहेको पार्टीलाई पुन: स्थापित गर्न सबैलाईसँगै लिएर हिड्नुपर्नेमा पार्टीका नव निर्वाचित केही पदाधिकारीहरुले कांग्रेसलाई समाप्त गर्ने खालको कदमहरु उठाइरहेको उनले आरोप लगाए । “बहुमतको दम्भ देखाएर पार्टीलाई चलाइरहेका छन् । हाम्रो यसमा आपत्ती छ र यसको हामीले खुलेरै विरोध गर्छौं । नव निर्वाचित पदाधिकारीहरुले कांग्रेसलाई समाप्त गर्ने बाटो तर्फ लाग्नु भएको छ । निर्वाचनको मुखमा गरिने यस्ता गल्तीले लामो समयसम्म पार्टीलाई घाटा हुन्छ,” पटेलले भने ।
सोमबार सभापति जनार्दन सिंह क्षेत्रको अध्यक्षतामा बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले जिल्लामा रिक्त रहेका विभिन्न पदमा नियुक्ति गर्ने, पर्साका सम्पूर्ण स्थानीय तहलाई आधिकारिक उम्मेदवार तय गरेर पठाउन परिपत्र गर्ने, कार्य सम्पादन समिति र संसदीय समिति गठन गरेको थियो ।
बैठाको भोली पल्ट मंगलबार जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त निर्णयहरु सार्वजनिक गरिएका थिए । पत्रकार सम्मेलनमा पनि कांग्रेस निकट पत्रकारलाई मात्र बोलाइएको भन्दै स्थानीय सञ्चारकर्मीले विरोध जनाएका छन् ।