×

वीरगञ्ज, १६ चैत । आफ्नै पार्टीका गाउँपालिका अध्यक्षलाई बोत्तलले हिर्काउने सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमति देवी चौधरी (थरुइन) लाई जनता समाजवादी पार्टी (जसपा) पर्साले पार्टीबाट निष्काशन गरेको छ ।

सखुवाप्रसौनीकी उपाध्यक्ष थरुइनलाई जसपाले पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशित गरेको हो । पार्टीको नीति नियमविपरितका कामहरु गरेको भन्दै बुधवार बसेको जसपा पर्साको बैठकले चौधरीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको जनाईएको छ ।

उपाध्यक्ष थरुइनले गत फागुन २२ गते अध्यक्ष जयसवालमाथि पानी बोत्तलले प्रहार गरेकी थिइन । गाउँपालिका कार्यालयमा वडा अध्यक्षहरुको उपस्थितिमा चलिरहेको बैठकका क्रममा पुगेकी उपाध्यक्ष थरुइनले अध्यक्षलाई बोत्तलले हिर्काएको भिडियोनै भाइरल भएको थियो । उनिविरुद्ध जयसवालले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दर्ता गराएका थिए । अध्यक्ष जयसवालले आफूलाई जानकारीनै नगराई गाउँसभा गरेको आक्रोशमा उनलाई बोत्तलले हिर्काएको थरुइनले पछि स्वीकार गरिन ।

पटक-पटक सञ्चारमाध्यममा आइरहने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीचको विवाद उत्कर्षमै पुगेको थियो । यतिसम्मकी आइतबार अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै स्थानमा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका थिए । अध्यक्ष जयसवालले जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट आफैले दान गरेको जग्गामा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास गरेका थिए भने उपाध्यक्ष थरुइनले छुट्टै रहेको ऐलानी जग्गामा अन्य दलका नेताहरुको उपस्थितिमा आफ्नै हातबाट भवनको शिलान्यास गरेकी थिइन । 

थरुइन केही दिन पहिला एक पटक नेकपा एमाले प्रवेश गरिसकेकी थिइन । काठमाडौँ पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेर पार्टी प्रवेश गरेकी थरुइनले भोली पल्ट आफूलाई एमाले नेताहरुले भेटघाट भनेर पार्टी प्रवेश गरेको भन्दै भ्रम फैलाएको बताउँदै प्रेस विज्ञप्ति जारी गरेकी थिइन । यद्दपी पार्टी परिवर्तन गरे निर्वाचित पद जाने डरले थरुइनले त्यस्तो भनेकी थिइन ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा बसेको बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय निर्वाचन निर्देशिका २०७८ को बारेमा जिल्लाका पदाधिकारी र सदस्यहरुलाई अभिमुखिकरण समेत गरिएको छ । बैठकले यही चैत २० गतेसम्म केन्द्रिय समितिको निर्णयबमोजिम वडा तथा पालिकाहरुको उम्मेदवार छनौट गरेर जसपा जिल्ला समन्वय समितिमा पठाउने निर्णय पनि गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए । 

सचिव अहमदका अनुसार जिल्ला अध्यक्ष यादवको नेतृत्मा जिल्ला पदाधिकारी, सदस्य, पालिका सदस्य, क्षेत्रिय सदस्य, वडा सदस्य रहने गरी ५ सय १ सदस्यीय स्थानीय निर्वाचन मूल परिचालन कमिटी गठन गरिएको छ । 

उक्त समितिले निर्वाचनमा जसपालाई जिताउनका लागि पार्टीका गतिविधिलाई अगाडी बढाउने जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले बताए । यसअघिको निर्वाचनमा पनि जसपाले उल्लेख्य स्थानमा जित हाँसिल गर्न सफल भएको स्मरण गर्दै यस पटकको निर्वाचनमा पर्सा जिल्ला कब्जा गर्ने दावी गरे । 

त्यसैगरी जिल्ला सचिव तबरेज अहमदको नेतृत्वमा २ सय १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । पार्टीलाई पर्सा जिल्लामा सशक्त बनाउन र सबै स्थानीय तहदेखि वडासम्म जसपालाई जिताउने सचिव अहमदको भनाई छ । बैठकले जसपा परित्याग गरेर गएकाहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको सचिव अहमदले जानकारी दिए । 

बैठकमा जसपा पर्साका उपाध्यक्ष बासुदेव यादव, पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष बिजय कुमार चौरसिया, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल, जसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ईश्वरचन्द यादव लगायतको उपस्थिती रहेको थियो ।

Back to top