×

वीरगञ्ज, १४ चैत । सिर्सिया नदीलाई सफा बनाउन माग गर्दै वीरगञ्ज महानगरपालिकाको कार्यालय अगाडी धर्ना दिईएको छ ।

शहरको बीचमा पर्ने सिर्सिया नदी सफा र वीरगञ्जलाई प्रदूषणमुक्त बनाउन ‘सरिसवा नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियान’ले महानगरपालिका कार्यालयको मूल गेटमा ३ घण्टा धर्ना दिएको हो ।

‘स्वच्छ नदी प्रवित्र जल, स्वस्थ जीवन समृद्ध वीरगञ्ज’ नारासहित यसअघि पनि सिर्सिया नदीलाई सफा र प्रदूषणमुक्त बनाउन विभिन्न दवाव मूलक कार्यक्रम गर्दै आएको अभियानले सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको थियो  ।

धर्नामा सहभागीहरुले ‘सिर्सिया नदी प्रदूषण मुक्त गरौं, नदी अतिक्रमण हुनबाट जोगाऔं, नदीमा फोहोर पानी मिसाउने कार्य बन्द गरौं’ जस्ता नारासमेत लगाएका थिए  ।

महानगरपालिकामाथि सिर्सिया नदी सफाई र शहरलाई प्रदूषणमुक्त बनाउन दवाव सृजना गर्न धर्ना दिइएको अभियानमा सहभागी लोसपाकी नेतृ रम्भा मिश्राले बताईन । ‘रिले अनसन, ज्ञापन पत्र बुझाउनेलगायत विभिन्न कार्यक्रम मार्फत हामीले कयौँ पटक महानगरको ध्यानाकर्षण गराएका छौँ । शहरको मुटूमा रहेको नदीलाई यहाँका जनप्रतिनिधिले मृत अवस्थामा छोड्न सक्छन होला । तर हामी देख्न सक्दैनौं,’ नेतृ मिश्राले यात्राडेलीलाई भनिन ।

वीरगञ्जका मेयर विजयकुमार सरावगीले वाचा गरे अनुसार जितेर आएपछि सिर्सिया नदीलाई सफा गर्न केही काम गर्लान भन्ने आश गरिएपनि साढे ४ वर्षको अवधिमा नदी सफल बनाउन कुनै पहलसमेत नगरेको अर्का अभियन्ता शशिकान्त सर्राफको गुनासो छ । 

‘घोषणा पत्र मार्फत ठूलठूला कसम खाएका मेयर सरावगीले जितेपछि एकपटक नदी कस्तो अवस्थामा छ भनेर हर्नेपनि गएका छैनन् होला सायद । त्यसलाई सफाई र प्रदूषणमुक्त बनाउने कुरा त धेरै परको कुरा हो’ आक्रोशित हुँदै सर्राफले भने, ‘उहाँको ठूलो महल छ । करोडौँको आम्दानी छ । आफ्ना छोराछोरीलाई विदेश लगेर सेटल गर्न सक्छन । तर हाम्रो भविष्य त यो शहरसँग जोडिएको छ । हामीलाई त्यही सिर्सिया नदीसँग बाच्नु छ । यसको दुर्गति हेर्ना मन रोएर आउँछ ।’ 

मेयर सरावगीले पनि गत स्थानीय तहको निर्वाचनका क्रममा सार्वजनिक गरेको आफ्नो घोषणा पत्र ‘मेरो कसम’ मार्फत सिर्सिया नदीको दुवै किनारमा पक्की सडक सहित नाला निर्माण गरी वीरगञ्जबाट निस्केको फोहोर पानीलाई उक्त नाला मार्फत प्रशोधन केन्द्रमा लगी प्रशोधन पश्चात खानेपानी बाहेकको  कार्यमा पुर्नप्रयोग गर्ने व्यवस्था मिलाइने र दुवै किनारमा व्यापक रुपमा वृक्षारोपण तथा पार्क निर्माण कार्य गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, जितेर आएको साढे ४ वर्षको अवधिमा उनले सिर्सिया नदीको व्यवस्थापन बारे कुनै काम पनि गरेका छैनन् ।

केही वर्षअघिसम्म कलकल सफा पानी बग्ने सिर्सिया नदीमा आज प्रदूषणका कारण कालो विषालु पानी बग्ने गरेको छ । बारा– पर्सा औद्योगिक करिडोरमा सञ्चालित विभिन्न उद्योगहरुबाट निस्किने पानी प्रसोधन नै नगरी नदीमा मिसाउँदा सिर्सिया नदी प्रदूषित हुन् पुगेको हो । करिडोरमा सञ्चालित छाला, केमीकल, सिमेन्ट र अन्य मानवीय फोहरलाई नदी सोझै मिलाउने गरिएको छ । 

औद्योगिकप्रदूषणले विशेषगरि वीरगञ्जको जगरनाथपुर, पटेलनगर, सुखचैना, सौराहा क्षेत्रका बासिन्दा प्रभावित छन् । भने वीरगञ्जको मध्य भाग हुँदै बग्ने सिर्सिया नदीप्रदूषणका कारण नदी आसपासका मानिसहरु नराम्रहरी प्रभावित छन् । नदीको पानी प्रदुषित भएर जलचरहरु मरिसकेका छन्  ।

अभियान्ताहरुले पनि औद्योगिक करोडोरमा सञ्चालित उद्योग र कारखानाहरुबाट निस्कने फोहर पानीलाई प्रसोधन गरेर नदीमा मिसाउनु पर्ने, छाला र मासु उद्योगले रौं, जीव अवशेष र केमीकलयुक्त पानी नदीमा खसाल्न बन्द गर्नुपर्ने, प्रत्येक वर्ष वर्षायाममा सिर्सिया नदीमा बाढी आई वीरगञ्ज सहर तथा आसपासको बस्तीमा पस्ने गरेकोले नदीलाई अतिक्रमणमुक्त बनाउनुपर्ने, जग्गा खरिदबिक्री गर्दा प्रदेश सरकारले लिने स्वच्छता करको सम्पूर्ण रकम वीरगञ्जलाई प्रदूषणमुक्त बनाउने कामम लगाउनुपर्ने माग गरेका छन् ।

Back to top