वीरगञ्ज, १२ चैत । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दास मधेश प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा सम्मानित भएका छन् ।
कोभिड-१९ महामारीका समयमा चिकित्सकका रुपमा गरेको कार्यलाई मूल्यांकन गर्दै डा. दासलाई मधेश प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले सम्मानित गरेको हो ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मूल भवनमा शनिबार स्वास्थ्य दपर्ण मिडिया नेटवर्क प्रालिको छैठौँ बार्षिकोत्सवको अवसर आयोजित “राष्ट्रिय हेल्ट अवार्ड-२०७८” कार्यक्रममा डा. दासलाई नेपालका पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले खादा ओढाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कोभिड-१९ महामारीको समयमा मधेश प्रदेशको वीरगञ्जमा रहेर कोरोना भाइरसबाट प्रभावित विरामीहरुको उपचार तथा सेवामा जिम्मेवार तवरले कुशल चिकित्सकका रुपमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै डा. दासलाई मधेश प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा सम्मानित गरिएको आयोजक स्वास्थ्य दर्पणका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए ।
कोरोनाभाइरस महामारीको दोस्रो लहरमा डा. दासले नारायणी अस्पतालको कोभिड संयोजकका रुपमा कार्य गरेका थिए । महामारीको इपिसेन्टर बनेको वीरगञ्जको नारायणी अस्पतालमा डा. दासको काँधमै संक्रमितहरुको उपचार गर्ने जिम्मेवारी थियो । उनले दिनरात खटेर सयौँ संक्रमितहरुको ज्यान जोगाएका छन् । भाइरसबाट आफू पनि संक्रमित हुने भय हुँदाहुँदै पनि डा. दासले संक्रमितहरुको सेवा गरेका थिए ।
सन् २०१५ देखि मेडिकल क्षेत्रमा काम गरिरहेका डा. दासले मित्र राष्ट्र भारतमा पनि चिकित्सकका रुपमा काम गरेका छन् । कार्यक्रममा प्रत्येक प्रदेशबाट एकजनालाई प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा स्मानित गरिएको थियो ।