वीरगञ्ज, ११ चैत । पर्सा जिल्लाको ठोरीलाई आज पर्यटकीय स्थल घोषणा गरिँदै छ ।
तराई मधेशको ‘मिनी उपत्यका’ को नामले समेत परिचित ठोरीको प्रचार प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीय स्थल घोषणा गर्न लागिएको मधेश प्रदेश सरकारले जनाएको छ ।
ठोरीलाई पर्यटकीय स्थल घोषणा गर्नका निमित्त मधेश प्रदेश सरकारले आज ठोरीमै मन्त्रिपरिषद्को बैठक समेत राखेको छ । बैठकले ठोरीलाई पर्यटकीय स्थल घोषणा गर्नुका साथै अन्य निर्णय पनि गर्ने जनाईएको छ । केही दिन अगाडी मात्र ठोरी पुगेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने जनाएका थिए ।
पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र संघ सरकारको ध्यान नपुग्दा यस ठाउँको विकास अपेक्षित ढंगले हुन् सकेको छैन । तर, मधेश प्रदेश सरकारले ठोरीलाई पर्यटकीय स्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ ।
भारतसँग सिमानाका जोडिएको कारण पनि यहाँ दिनहु हजारौँको संख्यामा भारतीय र देशका अन्य ठाउँबाट पर्यटक आउने गरेका छन् । जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रुपमा समेत प्रयोग गरिन्छ । नयाँ वर्ष अथवा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट समेत पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । नेपालका अन्य स्थानका लागि ठोरी नौलो स्थान भएपनि पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान राम ठोरीमा जन्मेको दावी गरेपछि एकाएक ठोरीको देशभरी चर्चा चलेको थियो ।
अर्कोतर्फ आवश्यक पूर्वाधार बिनानै मधेश प्रदेश सरकारले ठोरीलाई पर्यटकीय स्थल घोषणा गर्न लागेको आरोप लागेको छ । निर्वाचनको मुखमा मतदातालाई रिझाउन मधेश प्रदेश सरकारले यस्तो गर्न लागेको सामाजिक सञ्जाल प्रयोगकर्ताले आरोप लगाएका छन् ।
मधेश प्रदेश सभाको दुई महिनापछि बैठक बस्ने दिननै मन्त्रिपरिषद्को बैठक मुख्यमन्त्री राउतले ठोरीमा राखेका छन् । शुक्रवार प्रदेशसभाको बैठक पनि बोलाइएको छ । यद्दपी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन प्रदेशका सबै मन्त्रीहरु ठोरी जाने भएकाले प्रदेशसभा बैठक औपचारिकतामा सीमित हुने संभवाना छ ।