सांकेतिक तस्बिर ।
वीरगञ्ज, ९ चैत । तराई–मधेशका क्षेत्रमा गर्मीले आफ्नो प्रभाव देखाउन थालेको छ । चैत महिनाको पहिलो सातादेखि ह्वातै बढेको गर्मीका कारण यस क्षेत्रका जनताको जीवन कष्ठकर बन्दै गएको छ । सामान्यतया बैशाख, जेठको महिनामा लाग्ने खालको गर्मी चैत महिनामा लाग्न थालेपछि यस क्षेत्रका जनताको जनजीवन प्रभावित भएको हो ।
मौसमविद्हरुका अनुसार सामान्यतया बैशाखको सुरुवातमा बन्ने एन्टि साइक्लोन यस पटक छिट्टै बनेको र वेस्टर्न डिस्टर्बन्स पनि सक्रिय नभएकोले थार मरुभूमि र पाकिस्तानबाट आएको तातो हावाका कारण उत्तरी भारत र नेपालमा गर्मी बढेको हो ।
बढ्दै गएको गर्मीका कारण पर्साको पटेर्वासुगौली गाउँपालिकामा एकै विद्यालयका १५ जना छात्रा अचेत भएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–४ सुगौली दापस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आज बिहान गर्मीको कारण अचेत भएका हुन् ।
कक्षा ८, ९ र १० मा अध्ययनरत १५ जना विद्यार्थी गर्मीका कारण पढाई भईरहेकै बेला बेहोस भएको विद्यालयका प्रधानाध्यापक रामाशंकर राउत थारुले बताए । अचेत भएका छात्राहरुको नारायणी अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रीति यादवले उपचार गरेकी थिइन । डा. यादव विद्यालय छेउमै स्वास्थ्य शिविरको लागि पुगेकी थिइन ।
अचानक बढेको गर्मीको कारण विद्यार्थीहरु बेहोस भएको हुन् सक्ने डा. यादवको भनाई छ । “कक्षामा विद्यार्थीको संख्या बढी, पानीको कमी र सँगसँगै गर्मीले गर्दा विद्यार्थीहरु बेहोस भएका थिए,” डा. यादवले भनिन्, “त्यसमाथि अघिल्लो दिन एकजना विद्यार्थी बेहोस भएको रहेछ । उसकै ट्रमाले गर्दा पनि आज विद्यार्थीहरु बेहोस भएको हुन् सक्छ ।”
डा. यादवले गर्मी बढेकोले बाहीर निस्किँदा अनिवार्य रुपले छाता प्रयोग गर्ने, पर्याप्त मात्रमा पानी र पानीको मात्रा बढी भएको खाने कुरा सेवन गर्न सुझाव दिइन् । गर्मी बढेसँगै विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्नुपर्ने, कक्षाकोठा व्यवस्थित र फराकिलो हुनुपर्ने, हावा आवतजावत गर्ने किसिमका झ्यालहरु निर्माण गर्ने, लामो समयसम्म विद्यार्थीहरुलाई एसेम्बली नगराउने लगायतका उपायहरु अपनाएमा गर्मीका कारण हुने समस्याहरुबाट सुरक्षित रहन सकिने डा. यादवको भनाई छ ।
विद्यार्थीहरु बेहोस भएपछि विद्यालयको आजको पठनपाठन समेत अवरुद्ध भएको छ । अरु विद्यार्थी पनि अचेत हुन सक्ने आशंकामा सबैलाई घर पठाइएको विद्यालयले जनाएको छ । नारायणी अस्पतालका कन्सलटेन्ट फिजिसियन डा. सरोजरोशन दासले गर्मी बढेसँगै ‘हिट स्ट्रोक’ को सम्भावना बढ्दै गएको बताए । उनले भने, ‘तापक्रम बढ्दै जाँदा हिट स्ट्रोकको सम्भावना पनि बढ्दै गएको छ । पानी धेरै पिउने र पानीजन्य फलफुलसँगै झोलिलो पदार्थको प्रयोग धेरै गर्नुपर्छ ।’
टाउको दुख्ने, टाउको घुम्ने, चक्कर लाग्ने, गर्मी धेरै हुँदा पनि पसिना नआउने, कमजोर जस्तै आभाष हुने, धड्कन बढ्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्ष्णहरु देखिएमा नजिकैको स्वास्थय संस्थामा गएर परीक्षण गराउन डा. दासले सुझाव दिए ।