×

सांकेतिक तस्विर ।

वीरगञ्ज ८ चैत । बारा जिल्लाको जितपुरस्थित कोहिनुर कपडा फ्याक्ट्रीमा कार्यक्रत एकजना मदजुरको मृत्यु भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरास्थित कोहिनुर कपडा फ्याक्ट्रीमा काम गर्ने एकजना मदजुरको शरीरमा तातोपानी खनिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा जितपुरसिमरा-२० इनर्वाटोल निवासी २५ वर्षीय शिवनाथ महतो रहेका छन् । 

प्रहरीका अनुसार पानी तातिरहेको मेशिनको ढक्कन अचानक खुल्दा आइतबार दिउँसो साढे ३ बजेको करिवमा त्यही काम गरिरहेका महतोको शरीरमा तातोपानी खनिएको थियो । पानी खनिंदा उनको शरीरका विभिन्न भाग नराम्ररी पोलेका थिए ।

तातोपानी खनिंदा महतो शरीरका विभिन्न भाग, दुवै खुट्टामा पानीले नराम्ररी पोलेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताए । 

पोलेर घाइते भएका महतोलाई तत्काल वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा ल्याईए पनि यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौँस्थित किर्तिपुर अस्पताल पठाईएको थियो । पैसा बढी लाग्ने भएको हुँदा फ्याक्ट्रीले सुरुमा महतोलाई काठमाडौँ पठाउन आनाकानी गरिरहेको स्रोतको दावी छ । तर, स्थानीय र फ्याक्ट्रीका अन्य कर्मचारीले विरोध गरेपछि अन्त्यमा महतोलाई काठमाडौँ पठाईएको थियो । 

काठमाडौँ लग्दालाग्दै ढिलो भएको कारण महतोको अवस्था झनझनै बिग्रिदै गएको थियो । गम्भीर अवस्थामा रहेका उनको सोमबार बिहान ३ बजेको करिवमा मृत्यु भएको बारा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी थापाले जानकारी दिए । 

फ्याक्ट्रीले मजदुर र कर्मचारीहरुको सुरक्षाका लागि आवश्यक मापदण्डहरु राम्ररी पालना नगर्दा घटना भएको स्थानीयहरुले आरोप लगाएका छन् । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ । अर्को तर्फ घटनालाई लुकाउन फ्याक्ट्रीका सञ्चालकहरुले राजनीतिकदेखि आर्थिक चलखेलसमेत गरिरहेको बुझिएको छ ।

Back to top