वीरगञ्ज, ७ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले राजिनामा दिएका छन् ।
यही २०७९ वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनमा धनुषाको विदेह नगरपालिकाबाट नगरप्रमुख (मेयर) मा उम्मेदवारी दिनका लागि एसएसपी साहले राजिनामा दिएको बुझिएको छ ।
जागिरको १३ महिना अवधि बाँकी रहँदा एसएसपी साहले राजिनामा दिएका हुन् । स्रोतका अनुसार साहले गत फागुन १० गते नै राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयले उनको राजिनामा स्वीकृत गरेको छ ।
साहले पनि प्रहरीको जागिरबाट आफूले राजिनामा दिएको स्वीकार गरेका छन् । राजिनामा दिएर साह अहिले गृह जिल्ला धनुषामा निर्वाचनको तयारीमा जुटेका छन् ।
२०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट प्रहरीमा सेवा थालेका साहको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् । वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।
यद्दपी, उनि अहिलेसम्म एसएसपी नै छन् । जागिरको १३ महिना अवधि बाँकी रहेको र डीआईजीमा समेत बढुवा हुने सम्भावना कम रहेकोले साहले बेलैमा राजीनामा दिएर राजनीतिक यात्रा सुरुवात गर्न उनि निकट स्रोतले जनाएको छ । साहले नेपाली कांग्रेसबाट मेयर लड्ने तयारी गरिरहेका छन् ।
पर्सा जिल्लामा एसपी हुँदा साहमाथि गैर व्यवसायिक आचरणको आरोप लागेको थियो ।