×

वीरगञ्ज, ७ चैत । पर्साको विन्दवासिनी गाउँपालिकामा भइरहेको नाला निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको छ ।

विन्दवासिनी-३ इटियाईमा उपभोक्ता मार्फत निर्माण भइरहेको नालामा गुणस्तरहिन सामग्री प्रयोग भइरहेको पाइएको हो । बड्का इटियाईदेखि मूख्य सडकसम्म निर्माणमा भइरहेको लगभग ५० मिटर लामो नालामा गुणस्तरहीन ३ नम्बरी इट्टा, कमसल किसिमको सिमेन्ट र बालुवा प्रयोग भएको स्थानीयले गुनासो गरेका छन् ।

उपभोक्ता मार्फत काम गराउने पर्नेमा स्थानीय जनप्रतिनिधिहरुले किर्ते उपभोक्ता गठन गरि प्रदीप चौरसिया नामक ठेकेदारसँग काम गराइरहेका छन् । ठेकदार प्रदीपसँग स्थानीयले नालाको लागत र इस्टिमेट माग्दा उनले आफूसँग नरहेको बताउँदै झपार्ने गरेको अमरजित चौरसियाले बताए । 

प्रदीप नेकपा एमालेका नेता पनि हुन् । वडा अध्यक्ष सल्मा खातुन पनि एमाले मै आबद्ध रहेकोले उनीहरुले मिलोमत्तोमा गुणस्तरहीन काम गरिरहेका छन् ।

इस्टिमेट मागेको हप्तौं बितिसक्दा पनि ठेकदारले उपलब्ध नगराएको अमरजितले यात्राडेलीलाई भने, “हामीले इस्टिमेटको कागज माग गर्दा प्रदीप चौरसियाले उल्टै झपारेर कुरा गर्छन । उल्टै तिमीहरुलाई जे गर्नुछ गर, मैले इस्टिमेट दिँदैन भन्ने खालको धम्की पूर्वक फर्काउने गरेका छन् ।”

नेपाल सरकारको नियम अनुसार निर्माणको काम भइरहेको ठाउँमा उपभोक्ता अथवा ठेक्का पाएको कम्पनिले निर्माण कार्यको सम्पूर्ण विवरणसहितको एउटा सूचना राख्नुपर्ने हुन्छ । सूचना राख्न नसकीए स्थानीयले मागेको समयमा उपलब्ध गराउनु पर्ने हुन्छ ।

तर ठेकदार प्रदीपले नाला निर्माणको काम बारे सूचना पनि राखेका छैनन् र स्थानीयले जानकारी माग्दा उल्टै झपारेर कुरा गर्ने गर्छन । उनले कामको इस्टिमेट उपलब्ध नगराउनेले पनि निर्माण भइरहेको नालाको गुणस्तर राम्रो नभएको पुष्टि गर्छ । 

अमरजितका अनुसार मोटो कमिसनको चक्करमा वडा अध्यक्ष सल्मा खातुनले उपभोक्तालाई गुणस्तरहीन काम गर्न छुट दिएकी छन् ।

यस विषयमा जानकारी लिन वडा अध्यक्ष सल्मा खातुनलाई सम्पर्क गर्दा उनको मोबाइल उठेन । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले पनि फोन उठाएनन् । प्रमुख प्रशासकीय अधिकृत राजु साहको मोबाइल पनि अफ छ ।

Back to top