×

वीरगञ्ज, ७ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल निलम्बित भएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा विशेषमा अदालतमा मुद्धा दर्ता गरेसँगै उनि निलम्बित भएको अख्तियारले जनाएको छ ।

पटेललाई फागुन १५ गते हेटौडाबाट आएको अख्तियारको टोलीले पाँच लाख रुपैयाँ घुससहित रङ्गेहात नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । 

अनुसन्धानका क्रममा पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् । 

पटेलले घुस मागेको जानकारी पाएपछि अख्तियारले उनिविरुद्ध अप्रेशन चलाएर छापामारी गर्दा उनि आफ्नो एकजना सहयोगसँगै घुसको रकम र चेकसहित पक्राउ परेका थिए । अख्तियारले मेयर पटेल र उनका सहयोगी अशोक पटेललाई २ लाख पचास हजार रुपैयाँ नगद र सोही रकम बराबरको एउटा चेक लिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

घुस लिने काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले मेयर र उनका सहयोगीलाई ५ लाख रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

Back to top