वीरगञ्जस्थति जिल्ला प्रहरी कार्यालय पर्सामा म्यादी प्रहरीका लागि आवेदन दिन आएकाहरु । तस्विर : जाकीर हुसेन/यात्रा डेली ।
वीरगञ्ज, ७ चैत । स्थानीय तहको निर्वाचनमा सहयोग गर्नका निमित्त भर्ना गर्न लागिएका म्यादी प्रहरीको आवेदन हिजो (आइतबार) देखि खुलेको छ ।
आवेदन खुलेको एकैदिनमा मधेश प्रदेशमा मात्रै ५ हजार भन्दा बढीले आवेदन दिएका छन् । म्यादी प्रहरी भर्नाका लागि आइतबार पलिो दिन आठ वटै जिल्लाबाट ५ हजार २ सय १४ जनाले दरखास्त भरेको जनाईएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेको छ । एक लाखमध्ये मधेश प्रदेशमा मात्रै २१ हजार ६ सय ९८ जनालाई खटाईने छ ।
मधेश प्रदेशको धनुषामा सबैभन्दा बढी ३ हजार ४ सय ८६ म्यादी प्रहरी भर्ना गरिँदै छ भने सबैभन्दा कम पर्सा जिल्लामा १ हजार ८ सय १ जनालाई भर्ना गरिने २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सप्तरीमा ३ हजार १ सय ३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७ सय ३६, रौतहट २ हजार ५ सय ८९, बारा २ हजार ५ सय २८ र सिरहामा २ हजार ३ सय ३१ जना म्यादी भर्ना गरिने छ।
म्यादी प्रहरीको ४० दिनको जागिरका लागि चैत ११ गतेसम्म दरखास्त दिने समय निर्धारण गरिएको हो ।