×

वीरगञ्ज, ६ चैत । वीरगञ्जको सिमावर्ती शहर रक्सौलमा एकजना कपडा व्यवसायीमाथि दिनदहाडै गोली प्रहार भएको छ ।

लहना उठाएर फर्किरहेका रक्सौलको नागा रोड निवासी ओम प्रकाश बरनवालका छोरा रेडीमेड कपडा व्यवसायी ४२ वर्षीय विवेक बरनवालमाथि गोली प्रहार भएको हो । 

गोली प्रहार गरेर उनिसँग रहेको रकम लगायत सामग्रीसमेत लुटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कति रकम लुटिएको भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन ।

अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका बरनवालको अवस्था चिन्ताजनक छ । कम्मरमा गोली लागेका उनको हाल रक्सौलस्थित एसआरपी अस्पतालमा उपचार चलिरहेको छ ।

रक्सौलको पोस्ट अफिस चोकस्थित ताला चोकमा बरनवालको रेडी मेड कपडा पसल छ । 

लहना उठाएर मोटरसाइकलमा फर्किरहेका उनमाथि रक्सौल नजिकै रहेको दरपा थाना क्षेत्रको लोहडिया गाउँको समिप पसाह नदी नजिकै अज्ञात समूहले गोली चलाएर लुटपाट गरेको थियो । 

सुरुमा उनको नजिकैको एउटा निजी क्लिनिकमा उपचार गरिएपनि अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि उनलाई डङ्कन अस्पताल पठाईएको थियो । त्याहाँ पनि उनको उपचार सम्भव नभएपछि हाल उनको एसआरपी अस्पतालमा उपचार चलिरहेको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएका छन् ।

Back to top