सांकेतिक तस्विर ।
वीरगञ्ज, ६ चैत । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका जनता अहिले लामखुट्टेको आतंकबाट पिडित छन् ।
गर्मीको सुरुवातसँगै बढेको लामखुट्टे नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले कुनै कदम नउठाउँदा स्थानीय पिडित बनेका हुन् ।
वीरगञ्जमा अहिले राती मात्र नभइ दिउँसो पनि लामखुट्टेले टोक्ने थालेका छन् । तर, महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि काम सुरु गरेको छैन ।
वर्षको यस समय गर्मी सुरु हुन साथ लामखुट्टे बढ्ने गरेको छ । महानगरका कर्मचारीलाई लामखुट्टेको समस्या बारे जानकारी गराउँदासमेत नियन्त्रणका लागि औषधी छर्किन कार्य सुरु नगरेको वीरगञ्ज-११ का रामअयोध्य प्रसाद तुराहले बताए ।
समयमा औषधी नछर्किदा लामखुट्टेको टोकाईबाट विभिन्न किसिमको रोग लाग्ने सम्भवना पनि बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
महानगरका मेयर विजयकुमार सरावगीले सरसफाइमा उल्लेखीय सुधार भएको दावी गरेपनि लामखुट्टेको आतंक नघट्नुले उनको दावीमाथि विश्वास गर्ने आधार गुम्दै गएको छ । सरसफाई नहुँदा ठाउँ-ठाउँमा थुपारिएको फोहर लामखुट्टे उत्पादन गर्ने फ्याक्ट्री बन्दै गएको तुराहको भनाई छ ।
यता, महागरको सरसफाई शाखाका प्रमुख सरफुदीन अन्सारीले केही दिन भित्रै लामखुट्टे मार्ने औषधी छर्कने कार्य सुरु गरिने जानकारी दिए । औषधी र उपकरण खरिद प्रकियामा रहेकोले लामखुट्टे मार्न केही ढिलाई भएको उनले स्वीकार गरे ।