×

वीरगञ्ज, ३ चैत । बाराको बारागढी गाउँपालिकाबाट अन्यत्र सरुवा गरिएका प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधिले फेरी फिर्ता ल्याएका छन् । 

दुई महिना अगाडी अन्यत्र सरुवा गरिएका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीलाई गाउँपालिका अध्यक्ष देवदत्त बछार लगायतका जनप्रतिनिधिले जोडतोड लगाएर फिर्ता ल्याएका हुन् । 

फिर्ता आएका चौधरीलाई अध्यक्ष बछार र वडा अध्यक्षहरुले मिलेर २५ किलोको माला लगाउँदै स्वागत गरेका छन् । बुधबार गाउँपालिका कार्यालयमा आयोजित होलीको शुभकामना कार्यक्रममा चौधरीलाई माल लगाएर स्वागत गरिएको थियो ।

विगत ३ वर्षदेखि बारागढीको अधिकृतका रुपमा कार्यरत रहेका चौधरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रलायले लगभाग २ महिना अगाडी अन्यत्र सरुवा गरेको थियो । चौधरीको ठाउँमा मन्त्रालयले गाउँपालिकाको अधिकृत बनाएर वकिल पाललाई खटाएको थियो । तर,  अध्यक्ष बछारले पाललाई हाजिर गर्न दिएनन् ।

बछारले चौधरीसँग मिलेर विभिन्न परपञ्च रच्दै पाललाई हाजिर हुन् नदिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी राय बताउँछिन । चौधरीको समर्थनमा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई उचालेर बछारले जुलुस नै निकालन लगाएका थिए । 

अर्कोतर्फ उपाध्यक्ष रायले चौधरीलाई रवाना दिएर पाललाई हाजिर गराउनु पर्ने अडान लिँदै आएकी थिइन । बछार र रायको द्वन्दका कारण गाउँपालिकाको कामकाज नै दुई महिनासम्म ठप्प भएको थियो । निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका पालिकाका सूचना अधिकारी मुकेश ठाकुरलाई तोकिएपनि आर्थिक कारोबार ठप्प हुँदा कामकाज समेत प्रभावित भएको थियो । 

अध्यक्ष बछारलाई अधिकृत चौधरीको सहयोगमा भ्रष्टचार गर्न छुट पाउँदा उनले अरु व्यक्तिलाई पालीकाको जिम्मा दिन नखोजेको स्थानीयहरुको आरोप छ । उपाध्यक्ष रायले पनि उनीहरुले मिलेर लाखौँ रकम भ्रष्टचार गरेको आरोप लगाउँछिन् ।

चौधरीलाई २५ किलोको मालाले स्वागत गर्नुले गलत नजिर बसेको विश्लेषकहरु बताउँछन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले कुनै उल्लेख्य काम र परिवर्तन गरेको भए विदाई गर्ने बेला सामान्य कार्यक्रम गरेर प्रसंसा गर्न सकिए पनि स्वागतको नाममा चाप्लुसी गर्न २५ किलोको माला लगाउनु बिना तुकको विषय भएको स्थानीय दिनेश साहको भनाई छ । उनी लेख्छन्, ‘गुलामी मानसिकताबाट सायद हामी ग्रसित छौँ ।’ पत्रकार मोहनलाल पण्डितले उक्त स्वागतलाई नौटंकीको संज्ञा दिएका छन् । तस्रीदुन मन्सुरले भने नेताहरु कर्मचारीको गुलामी गर्दा नै देशमा सुशासन स्थापना हुन नसकेको बताए ।

Back to top