वीरगञ्ज, २७ फागुन । गर्मी बढेसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढेको छ ।
वर्षको यस समयमा गर्मी बढ्न लाग्दा लामखुट्टेको प्रकोप बढ्ने जानकारी हुँदाहुँदै पनि वीरगञ्ज महानगरपालिकाले समयमा औषधी नछर्किंदा समस्या विकराल बन्दै गएको हो ।
तराई-मधेशका जिल्लामा गर्मी सुरु हुन साथ लामखुट्टेको प्रकोप बढ्ने कुराबाट महानगर अनावीज्ञ भने छैन । तर, औषधी छर्किन हरेक वर्ष ढिलाई हुने गरेको छ ।
समयमा औषधी नछर्किदा लामखुट्टेको टोकाईबाट परेशान हुनु वीरगञ्जका स्थानीयहरुका लागि कुनै नौलो कुरा नभएको स्थानीय हिमांशु कुमार बताउँछन् । महानगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधी नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना पनि बढदै गएको हिनांशुको भनाई छ ।
महानगरका मेयर विजयकुमार सरावगीले सरसफाइमा उल्लेखीय सुधार भएको दावी गरेपनि लामखुट्टेको आतंक नघट्नुले उनको दावीमाथि विश्वास गर्ने आधार गुम्दै गएको छ ।
अर्कोतर्फ महानगरपालिकाले छर्केको औषधियुक्त धुवाँ पनि लामखुट्टे नियन्त्रणमा खासै प्रभावकारी नदेखिएको अर्का स्थानीय इम्तियाज अन्सारीले बताए । “धुवाँ छर्केको देख्दा त एकै दिनमा महानगर भरीका लामखुट्टे मर्छन जस्तो लाग्छ, तर धुवाँ सकिन नपाउँदै लामखुट्टेहरुले आफ्नो वितण्डा मचाउन सुरु गरि हाल्छन्,” अन्सारीले यात्राडेलीलाई भने ।
लामखुट्टेको टोकाईबाट स्थानीय हैरान भइरहेको बेला महागरको सरसफाई शाखाका प्रमुख सर्फुद्दिन अन्सारी भने मोबाइल अफ गरेर शुक्रबार मनाइरहेका छन् ।