वीरगञ्ज, २७ फागुन । पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी थरुइनीमाथि प्रहरीमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ ।
थरुइनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहार मुद्दा दर्ता भएको हो । गाउँपालिका अध्यक्ष प्रदीप जयसवालमाथि अभद्र व्यवहार र कुटपिट गरेको आरोपमा थरुइनी विरुद्ध मुद्दा दर्ता भएको बुझिएको छ ।
गाउँपालिका अध्यक्ष जयसवालले नै थरुइनीविरुद्ध दिएको किटानी जाहेरीको आधारमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
थरुइनीले कुटपिट गरेको सिसी क्यामेराको फुटेज (भिडियो) लाई प्रमाण बनाएर पेश गरेपछि प्रहरीले मुद्दा दर्ता गरेको अध्यक्ष जयसवालको भनाई छ ।
सुरुमा उपाध्यक्ष थरुइनीले गाउँपालिका अध्यक्ष जयसवालले अन्य जनप्रतिनिधिसँग मिलेर आफूसँग दुर्व्यवहार गर्दै कुटपिट गरेको आइतबार सञ्चारमाध्यमलाई बताएकी थिइन । कुटपिटबाट आफू घाइते भएको भन्दै थरुइनी उपचार गराउन वीरगञ्जस्थित नारायणी अस्पतालसमेत पुगेकी थिइन ।
तर, भोलीपल्ट अध्यक्ष जयसवालले उपाध्यक्षद्वारा लगाईएको सबै आरोपहरु निराधार भएको बताउँदै उल्टै आफूमाथि थरुइनीले बोत्तल र चप्पलले प्रकार गरेको बताएका थिए । उनले पत्रकार सम्मेलन गरेर उक्त घटनाको सिसीटिभी भिडियो आफूसँग रहेको र सोही आधारमा उपाध्यक्षविरुद्ध आफूले प्रहरीमा उजुरीपनि दिने बताएका थिए । उपाध्यक्षले अध्यक्षलाई बोत्तलले हिर्काएको भिडियो हर्न यहाँ क्लिक गर्नुहोस् ।
पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार थरुइनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको छ । थरुइनी आफै नआएपछि प्रहरी परिचालन गरेर उनलाई पक्राउ गरिने पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालले बताए ।