वीरगञ्ज, २६ फागुन । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का वासिन्दाले भोजपुरी प्रतिष्ठानको भवन निर्माणविरुद्ध गरिरहेको आन्दोलनमा नेपाली कांग्रेस पर्साले ऐक्यबद्धता जनाएको छ ।
वडामा रहेको एउटा मात्र खाली जग्गामा महानगरपालिकाले भोजपुरी प्रतिष्ठानको भवन निर्माण गर्न लागेको भन्दै विरोधमा उत्रेका वडावासीसँग कांग्रेस पर्साका नवनिर्वाचित सभापति जनादर्न सिंह क्षेत्रीले ऐक्यबद्धता जनाएका हुन् ।
भोजपुरी भाषाको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले गठन भएको भोजपुरी प्रतिष्ठानका लागि वीरगञ्ज महानगरपालिकाले प्रदेश सरकारसँगको सहयोगमा लगभग डेढ करोडको लागतमा दुई तल्ले भवन निर्माण गर्दैछ । भवन निर्माणको गत वर्ष अन्तराष्ट्रिय मातृभाषा दिवसका दिन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले शिलान्यास गरेका थिए ।
स्थानीयहरुका अनुसार हाल रहेको खाली जग्गामा विवाह भोज, बैठक, पूजापाठ जस्ता धार्मिक, सांस्कृतिक र सार्वजनिक कार्यक्रम गर्दा गरिब, दलित र विपन्न परिवारलाई सहज हुन्छ । महंगो पार्टी प्यालेस र धर्मशाला भाडा नगर्न सक्ने दलितहरुले उक्त स्थानलाई वर्षौँदखि सोही कार्यका लागि प्रयोग गर्दै आएका छन् । त्यस्तै आगलागी, भुकम्प जस्ता प्राकृतिक प्रकोप भएको समयमा पनि स्थानीयहरूले सोही स्थानमा आश्रय लिने गरेको विरोधमा सहभागी रविन्द्र ठाकुरले बताए । एउटा मात्र खाली जग्गामा पनि भवन निर्माण भए आफूहरुसँग अरु कुनै विकल्प नरहने ठाकुरको भनाई छ ।
पहिला ४ कट्ठा जग्गा रहेकोमा हाल महानगरपालिकाले नै वडावासीको सुविधाका लागि डेढ कठ्ठा जग्गामा सार्वजनिक धर्माशाला बनाएको छ । बाँकी रहेको जग्गामा भोजपुरी प्रतिष्ठानको लागि भवन निर्माण गर्न लागिएको हो ।
जिल्ला सभापति क्षेत्रीले पनि महानगरपालिकाले प्रत्येक वडामा रहेका सार्वजनिक जग्गालाई पार्कका रुपमा विकसित गर्नुपर्नेमा उल्टै भवन निर्माण गर्नु दुर्भाग्यपूर्ण भएको बताए । “महानगरको प्रत्येक वडामा एउटा ठूलो पार्क हुनपर्छ । ठूलो शहरको भागदौडबाट टाँढा शान्त वातावरणमा एकचिन भएपनि आनन्दसँग बस्न मिल्ने पार्क जस्तो खुल्ला स्थान आवश्यक हुन्छ । भारतका शहरहरुमा पनि प्रत्येक वडा एउटा यस्तो ठाउँको व्यवस्था गरिएको हुन्छ ।” क्षेत्रीले भने, “तर महानगरले भएको एउटा मात्र जग्गामा भवन बनाउनु गलत हो । हामी तपाईँहरुको आन्दोलनमा सँगै छौँ ।”
जग्गा छेउमै हाल बन्द अवस्थामा रहेको रात्रि स्कुलमा प्रतिष्ठानको भवन बनाउनुपर्ने स्थानीयहरुको भनाई छ । यद्दपी, त्यहाँ पहिलादखि नै महानगरले आफ्नो प्रयोगशालालगायतका केही कार्यालय स्थापना गरिसकेकोले भवन निर्माण गर्न निल्ने मेयर सरावगीको तर्क छ ।
भोजपुरी प्रतिष्ठानको कार्यालय पनि भवन नबन्दासम्मका लागि रात्री स्कुलमै राखिएको छ ।