वीरगञ्ज, २५ फागुन । बारा जिल्लाको करैयामाई गाउँपालिकाको न्यायिक समितिले आर्थिक प्रशासनको काम कारवाहीमा हस्तक्षेप गरेकको आरोप लागेको छ ।
गाउँपालिकको वडा नम्बर८ मा निर्मित मन्दिरको भुक्तानीमा न्यायिक समितिले हस्तक्षेप गरेको आरोप लागेको हो । वडास्थित इटहर टोलमा उपभोक्ता समिति मार्फत निर्मित मन्दिरको कार्यसम्पन्न प्रतिवेदन तयार भएर टिप्पणीसमेत उठिसकेको अवस्थामा न्यायिक समितिको हस्तक्षेपका कारण भुक्तानी रोकिएको बुझिएको छ ।
वडा अध्यक्ष सुरेन्द्र साहका अनुसार न्यायिक समितिकी प्रमुख चित्रेलेखा कुमारी चौधरीले गाउँपालिकाकै कार्य आदेशमै निर्माण गरिएको मन्दिरको निर्माण सम्पन्न प्रतिवेदन तयार भइसकेको तथा भुक्तानीको लागि टिप्पणी पनि सदर भइसकेको अवस्थामा आर्थिक प्रशासन शाखालाई भुक्तानी रोक्न निर्देशन दिएकी छन् । “न्यायिक समितिको निर्देशनमा हाकिमले भुक्तानी दिरहेका छैनन्,” वडा अध्यक्ष साहले यात्राडेलीलाई बताए ।
मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष जोगिन्द्र राउत पनि साहकै कुरा दोहोर्याउँदै भने, “काम सम्पन्न भएको महिनौ बिति सक्यो तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले भुक्तानी दिन मानेका छैनन् ।”
मन्दिर निर्माणका लागि जग्गा छनौट गर्दा वडा कार्यालयले स्थानीयहरुको मञ्जुरी पनि लिएको समितिका अध्यक्ष कुर्मी बताउँछन् । यद्दपी केही व्यक्तिले आफूसँग राजनीतिक प्रतिशोध साध्न मन्दिर निर्माणको भुक्तानी रोकेको र गाउँपालिकाकी उपाध्यक्षसमेत रहेकी चौधरीले उनीहरुलाई सघाइरहेको कुर्मीको आरोप छ ।
वडा स्तरीय योजना अन्तर्गत २ लाख ९४ हजार गाउँपालिकाको बजेट तथा स्थानिय श्रमदान ३३ हजार ७८ रुपैया गरी ३ लाख २७ हजार ७८ रुपैयाको लागतमा मन्दिरको जग तथा फाउण्डेशन बनाउने काम सम्पन्न भएको छ । वडाको योजनामा वडाको सम्पूर्ण प्रतिनिधिहरुसमेत सहमती रहेको वडा अध्यक्ष साहले बताए । तर, गाउँपालिकाले आफ्नै निर्णयलाई उल्टयाएर स्थानिय सर्वसधारणलाई दुःख दिन खाजेको वडा अध्यक्ष साहको गुनासो छ ।
गाउँपालिकाले उपभोक्ता समितिलाई २०७८ कार्तिक ७ गते कार्य आदेश दिँदै चैत्र मसान्त भित्र काम सम्पन्न गरी भुक्तानीको लागि आवश्यक कागाजात पेश गर्न पत्र जारी गरेको थियो । सो कार्यको लागि वडा कार्यालयले समेत सहमती यस अघि नै जनाई सकेको थियो । गाउँपालिकाले दिएको आदेशा अनुसार चैत्र अगावै कार्य सम्पन्न गरी प्राविधि प्रतिवेदन मुल्याङ्कन समेतको अधारमा उपभोक्ता समितिले भुक्तानीको लागि गाउँपालिकाको कार्यालयमा निवेदन दिएको थियो । उपभोक्ता समितिको निवेदनको अधार भुक्तानी गरी दिनेवारे गापाले टिप्पणी समेत सदर गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले पनि न्यायिक समितिको आदेशमा भुक्तानी रोकिएको स्वीकारे । गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले भने रामजानकी मन्दिरको ठाउँमा हनुमान मन्दिर बनाए कुरा मिल्ने बताए । तर, शुरुमै उपभोक्ता समितिले रामजानकी मन्दिर बनाउने कार्य आदेश पाएको र मन्दिरको नाम पहिलादेखि नै रामजानकी मन्दिरमै रहेकोले योजनाको नाम फेर्न नमिल्ने वडा अध्यक्ष साहको भनाई छ ।