वीरगञ्ज, २५ फागुन । पर्सामा आफ्नै श्रीमतीलाई बन्धक बनाएर कुटपिट गर्दै गुप्ताङ्गमा लठ्ठी पसाएको घटना बाहिरिएको छ ।
जिल्लाको ग्रामिण क्षेत्रमा एकजना व्यक्तिले फागुन ९ गते सोमबारका दिन आफ्नी कान्छी श्रीमती र अन्य तिन जना सहयोगीसँग मिलेर ४६ वर्षीय जेठी श्रीमतीलाई कुटपिट गर्दै गुप्ताङ्गमा लठ्ठी पसाएर बलात्कार गरेको घटना बाहिरिएको हो । नेपालको कानुनले गुप्ताङ्गमा लिङ्ग मात्र नभएर कुनैपनि प्रकारको बस्तु पसाउनुलाई बलात्कार मान्छ ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी घटनस्थलमा पुगेपनि आरोपितहरु फरार भएका थिए । त्यसपश्चात महिलालाई उद्धार गरेर अस्पताल लागिएको थियो । हाल महिलाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए । “पिडितलाई सुरुमा ल्याउँदा उनको अवस्था चिन्ताजनक थियो । बाच्नु हुन्न जस्तो लाग्थ्यो तर अहिले उहाँको स्वास्थ्यमा क्रमस सुधार आउँदै छ,” डिएसपी खनालले यात्राडेलीसँगको टेलिफोन संवादमा भने, “उहाँलाई अहिले प्रहरीको संरक्षणमा राखेर काउन्सीलिङ्ग गरिरहेका छौँ ।”
काउन्सीलिङ्गका क्रममा पिडितले यसअघि पनि आफूलाई श्रीमानले सम्बन्ध बिच्छेद गर्न पटक-पटक दबाब दिँदै कान्छी श्रीमतीसँग मिलेर कुटपिट गर्ने गरेको बयान दिएकी छन् ।
खनालका अनुसार घटनामा संलग्न सहयोगीमध्ये दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिका ५ निवासी ५१ वर्षीय महादेव भन्ने शेराजुल मियाँ र सोही ठाउँकी ५० वर्षीय जोहरा खातुन रहेका छन् । उनीहरुलाई मंगलबार धोविनीबाट पक्राउ गरिएको हो ।
घटनामा सहयोग गरेको आरोपमा पक्राउ परेका महादेव भन्ने शेराजुल मियाँ र जोहरा खातुन । तस्विर सौजन्य : डीपीओ, पर्सा ।
पिडितका श्रीमान्, कान्छी श्रीमती र अन्य १ जना सहयोगी अहिले पनि फरार छन् । उनीहरुको खोजि भइरहेको प्रहरी प्रवक्ता समेत रहेका खनालले बताए ।
दोषीहरु घटनाकै दिन भारत तर्फ फरार भएको डिएसपी खनालको भनाई छ । “घटना भएको स्थल भारतको सिमानाकासँग जोडिएको कारण दोषीहरु भाग्न सफल भएका छन् । दुईजनालाई पक्राउ गरिएपनि अन्यको खोजि कार्य जारी छ । हामीले भारतीय प्रहरीको सहयोग पनि लिईरहेका छौँ,” खनालले भने ।
पिडितको समेत पहिचान खुल्ने भएकोले बाँकी अपराधीहरुको नाम, ठेगाना लगायातका अन्य विवरण सार्वजनिक नगरिएको खनालको भनाई छ ।
पक्राउ परेकाका दुवै जनाविरुद्ध शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भईरहेको छ ।