×

सांकेतिक तस्विर ।

वीरगञ्ज, २४ फागुन । कोभिड-१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको सम्पूर्ण प्रतिबन्धहरु हटाएको छ ।

विश्वव्यापी महामारका रुपमा फैलिएको कोरोनाभाइरस अर्थात कोभिड-१९ रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले यसअघि विभिन्न मितिमा लगाएको सम्पूर्ण प्रतिबन्धहरु हटाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोमबार एउटा सूचना जारी गर्दै मंगलबार (आज) देखि कोरोना महामारी नियन्त्रण र रोकथामका लागि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) को बैठकले विभिन्न मितिमा लगाएको प्रतिबन्धहरु हटाइएको जनाएका छन् । 

“संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालयबाट विभिन्न मितिमा आदेश जारी भएकोमा हाल कोभिड-१९ को संक्रमण घट्दै गएकोले मिति २०७८ फागुन २४ गतेदेखि- लागु हुने गरी प्रचलित कानून बमोजिमका राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायीक लगायतका क्रियाकलापहरु प्रचलित स्वास्थ्य मापठण्डको पालना गरि, गराई नियमित रुपमा सञ्चालन गर्न गराउन यस अघि जारी भएका आदेशहरुमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु मिति २०७८ फागुन २३ गते  बसेको डीसीसीएमसीको निर्णयानुसार पूर्ण रुपमा हटाइएको,” जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले अन्तिमपटक माघ ५ गते कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि सूचना जारी गरेर विभिन्न संसोधनसहित प्रतिबन्धहरु लगाएको थियो ।


 

Back to top