×

वीरगञ्ज २८ पुस । सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ । 

सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार ९०२ रुपैयाँ निर्धारण गरेका थियो । निजीस्तरका उद्योगको मूल्य प्रति क्वीन्टल रू. दुई हजार ४००  छ  ।

यसरी निजीस्तरका उद्योगी, व्यापारीभन्दा बढी मूल्यमा कम्पनीले धान खरीद गर्न थालेपछि बारा र पर्साका किसानको सोना मन्सुली धान विक्री गर्न कार्यालयमा भीड लागेको कार्यालय प्रमुख विकास कटुवालले जानकारी दिए । 

यसपाली सरकारले किसानबाट धान खरीद गर्ने मूल्यमा निजीस्तरका  उद्योगी व्यापारीभन्दा बढी राखेकोले किसानले केही भए पनि राहत मिलेको नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी शाहले बताए । 

व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र प्रत्येक वर्ष खरीद गर्दै आएको हो । कार्यालयका अनुसार यसवर्ष यस कार्यालयले सोना मन्सुली धान १५ हजार क्वीन्टल खरीद गर्ने लक्ष्य छ । 

यद्यपि हालसम्म करीब नौ हजार सोना मन्सुली धान खरीद गरिसकिएको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिए । 

कार्यालयले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौं, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ । 

कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच ओटा गोदाम रहेको छ । 

Back to top