वीरगञ्ज, १६ पुष । नेपालमा आजदेखि अचानक मौसम बिग्रेपछि त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक र बाह्य उडान प्रभावित भएका छन् ।
बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकलगायत देशका अन्य विमानस्थलबाट समेत उडान हुननसकेको जनाइएको छ ।
भिजिबिलिटी अत्यन्तै कम भएपछि उडान र अवतरण दुबै बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जनाएको हो ।
कुवेतबाट आएका जजिरा एयरलायन्सका दुईवटा विमान झण्डै दुई घण्टादेखि आकाशमै फन्को लगाइरहेका छन् ।
त्यसैगरी कतारको दोहाबाट आइपुगेको हिमालय एयरलायन्स र कतार एयरवेजको विमान पनि अवतरणको पर्खाइमा आकाशमै फन्को मार्दैछन् ।
अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरणका लागि कम्तीमा २८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भिजिबिलिटी एक सय मिटर हाराहारी मात्रै छ ।
मौसमविद् समीर श्रेष्ठले अहिले हुस्सु र कुहिरो विस्तारै हट्ने क्रममा रहेको र अबको एक घण्टामा भने भिजिबिलिटी पुग्नसक्ने अनुमान गर्न सकिने बताए । उनका अनुसार आन्तरिक विमान उड्न र अवतरण गर्न दुई किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ ।
त्रिभुवन विमानस्थलबाट दैनिक ५० हाराहारी अन्तर्राष्ट्रिय र झण्डै ३ सय वटा आन्तरिक उडान हुने गर्दछ ।