×

वीरगञ्ज, २२ मंसिर ।  आज मर्यादित महिनावारी दिवस । महिनावारीको क्रममा महिलालाई तल्लो पेट दुख्नु एक सामान्य प्रक्रिया हो ।

यो दुखाई साधारण हुन्छ । तर जब यो दुखाई असह्य हुन्छ तब अधिकांश महिला दुखाई कम गर्ने औषधी (पेनकिलर) को सेवन गर्छन् । तर यो औषधी खाँदा महिलाले केही कुरामा भने ध्यान दिनुपर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रिती यादव बताउँछिन् । 

– यदि महिनावारीको क्रममा अत्यधिक पीडा भयो भने दुई भन्दा कम (माइल्ड डोज) पेनकिलर खाँदा पनि आराम महसुस हुन्छ । तर यति गर्दा पनि पीडा कम भएन भने चाहिँ चिकित्सकको परामर्श लिनु पर्दछ ।

– यदि तपाईंलाई अत्यधिक पीडा हुन्छ र दिनमा दुई भन्दा धेरै पेनकिलर खाइरहनुभएको छ भने यसले साइड इफेक्ट गराउन सक्छ । साथै थप स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

– किशोरी अवस्थामा महिलालाई महिनावारी हुँदा अत्यधिक पीडा हुन्छ । तर उमेर बढेसँगै यसको दुखाईमा कम हुन थाल्छ । त्यसैले उमेर बढेसँगै पेनकिलर खानबाट बच्नु पर्दछ ।
 

पेन किलरका साइड इफेक्टहरु :

– लामो समयसम्म पेन किलरको प्रयोग गर्दा कलेजो र मिर्गौला खराब हुने खतरा बढ्छ ।

– निन्द्रा नलाग्ने समस्या हुन सक्छ ।

– चिलाउने र छाला पोल्ने समस्या हुन सक्छ ।

– एसिडिटीको समस्या निम्तिन सक्छ ।

– कब्जियत वा झाडा लाग्न सक्छ ।

– पेटमा अल्सर हुनसक्छ ।
 

Back to top