×

फाइल तस्विर ।

वीरगञ्ज, २१ मंसिर । पर्सा जिल्ला वृहत खोप अभियान सञ्चालन हुने भएको छ । यहि मंसिर २२, २३ र २४ गते जिल्लाका विभिन्न स्वास्थ्य संस्स्थाहरुमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । 

कोरोनाभाइरस विरुद्धको खोप लगाउन छुटेका  १८ बर्षमाथिको सम्पूर्ण नागरिकका लागि वृहत खोप अभियान सञ्चालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकालले जानकारी दिए । 

मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रजीअ एवम् जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका ढकालले कोरोनाबाट खोप सबैभन्दा महत्वपूर्ण उपाय भएको बताउँदै १८ वर्ष उमेर पुगिसकेका सबैलाई खोप लगाउन आग्रह गरेका थिए । 

खोप लगाए कोरोना लागेपनि गम्भीर किसिमले विरामी नभइने र स्वास्थ्य जटिलता नहुने भएकाले सबैलाई खोप अभियानमा सहभागिता जनाई कोरोना विरुद्धको लडाईमा सहयोग गर्न अपिल गरेका थिए ।

'कोरोना भाईरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि देखा परेको छ । यसले समुदायमा थप त्रास बढाएको छ,' प्रअिज ढकालले भने, 'कोरोना भाईरसदेखि डराएर हुँदैन । यसअघि दुईवटा कोरोना लहरबाट पाठ सिकिसकेका छौ, सबभन्दा उत्तम उपाए नै स्वास्थ्य सुरक्षा मापदण्डको पालान गर्दै संक्रमण हुनबाट आफू र आफनो परिवारलाई जोगाउँनु हो । खोप लगाए हामी कोरोनाको जोखिमबाट धेरै मात्रामा आफुलाई जोगाउन सक्छौँ ।'

ढकालले नेपाल भारतको खुल्ला सिमाबाट थप ओमिक्रोन भेरिएन्टका संक्रमित भित्रिन नदिन स्थानिय प्रशासन, महानगरपालिका, सुरक्षा नियकासँग मिलेर आफुहरु काम गरिरहेको बताए । 

२०७८ साउन यता जिल्लामा ७ पटक खोप अभियान सञ्चालन भइसकेको बताउँदै ढकालले पर्सामा हालसम्म १ लाख ३२ हजार १ सय २८ जनाले दोश्रो मात्रा खोप लगाईसकेका जानकारी दिए । जसमध्ये ९ हजार ७ सय ६४ जनाले कोभिसिल्डको दुवै डोज, ६६ हजार ३ सय ७५ जनाले भेरोसेलको दुवै मात्रा, ३४ हजार ५ सय ७ जनाले जनसन सिंगल डोज र २१ हजार ९ सय ८२ जनाले एष्ट्राजेनेकाको दुवै डोजको खोप लगाएको उनले बताए ।

जिल्लामा १८ बर्ष भन्दा माथिका लक्षित समुदायको संख्या ४ लाख ४५ हजार ३ सय ६८ जना रहेको र हालसम्म ३० (२९.६७) प्रतिशतले मात्रै खोप लगाएकोले पनि वृहत खोप अभियानलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो । 

जिल्ला खोप समन्वय समिति पर्साले पौष समान्तभित्र दुईतिहाई नागरिक अर्थात ६६ प्रतिशतलाई खोप लगाई सक्ने लक्ष्य लिएर काम अघि बढेको छ ।

जिल्लाका सम्पूर्ण स्थानिय तहहरुसँगको सहकार्यमा सबै स्वास्थ्य संस्था तथा आवश्यकताको आधारमा तत्कालै खोप केन्द्र स्थापना गरिने छ ।

खोप अभियान सफल बनाउँन ४ सय ७५ जना स्वास्थ्यकर्मी स्वयंसेवक व्यवस्थापक तथा ७६५ जना सामुदायिक महिला स्वायंसेविका सहितको टिम परिचाल गरी १२९ स्थानबाट खोप अभियान सञ्चालन गर्न लागेका छन् । 

कहाँ-कहाँ लगाइदै छ खोप?

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड स्थान जस्तै घण्टाघर, नयाँ बसपार्क, आर्दशनगर चोक, भन्सार र ड्राईपोर्ट चोकमा खोप केन्द्र सञ्चालनमा ल्याइदै छ । त्यसैगरी पोखरीया नगरपालिकामा हाट बजार लाग्ने दिन छुट्टै खोप केन्द्र स्थापना गरिने छ । आवश्यकता अनुसार थप हुनेगरी हाल वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल हस्पीटलमा आईतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मंगलबार र लिंकरोडमा स्थित भवानी हस्पीटलमा बिहिकार भेरोसिलको पहिलो वा खोप कार्डको आधारमा दोश्रो मात्रा खोप लगाइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गर्भाअवस्थाको पहिलो त्रैमासिक पुगेका सबै गर्भवतीलाई समेत खोप दिने व्यवस्था गरिएको छ । यसअघि भेरोसेल कोभिसिल्ड वा एस्ट्राजेनका खोपको पहिलो मात्रा लिएकालाई खोप कार्डको आधारमा दोश्रो मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिनेगरी व्यवस्था मिलाईएको छ ।

विशेष खोप अभियानका लागि जिल्लामा प्रयाप्त मात्रामा खोप छ । यसअभियानमा लक्ष्य अनुसार खोप आपुर्तीको व्यवस्था मिलाईएको प्रजीअ ढकालले बताए । उनका अनुसार जिल्लामा अहिले भेरोसेलको ४३ हजार खोप आएको छ भने  ६० हजार खोप पथलैयास्थित प्रादेशिक खोप स्टोरमा पर्सा जिल्लाका सुनिश्चित गरिएको छ ।

Back to top