×

वीरगञ्ज, २१ मंसिर ।  जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित १ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ स्थित अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडी पार्किङ्ग गरी राखिएको अवस्थामा ना.१६ प ६८२५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएको थियो ।

जगदम्बा मेटल क्राफ्ट ईन्डिस्ट्रिज वीरगञ्ज पर्साको नाममा रहेको मोटरसाईकल सोही ईण्डिस्ट्रिजमा कार्यरत बाराको फेटा गाउँपालिका वडा नम्बर १ निवासी गुड्डु कुमार गिरीले चलाउँदै आएको थिए । मंसिर १४ गते कामको सिलसिलामा अन्नपुर्ण वायरको अगाडी पार्किङ्ग गरिएको मोटरसाईकल चोरी भएको हो ।

चोरी भएको उजुरी परेपछि खोजतलाश गरीरहेको प्रहरीले मंसिर २० गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा चोकमा नम्बर प्लेट हटाएर चलाईरहेको अवस्थामा मोटरसाईकल फेला पारेको हो । मोटरसाईकलसहित चोरीमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ बस्ने १८ वर्षीय सोनालाल यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यादवविरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 
 

Back to top