×

वीरगञ्ज, ८ मंसिर ।  नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष हरिहर दाहालले पवित्र न्यायको मन्दिरलाई प्रदुषित बनाउनेहरुलाई न्यायलयमा बस्ने कुनै अधिकार नरहेको बताउनुभएको छ । न्यायको मन्दिरलाई प्रदुषित बनाउने र न्यायकी देवीलाई बलात्कार गर्ने प्रधानन्याधिशले अविलम्ब राजीनामा दिनुपर्ने पूर्व अध्यक्ष दाहालको भनाई छ । 

नेपाल बार एशोसिएसनको आन्दोलनअनुरुप उच्च अदालत बार एशोसिएसन वीरगञ्जमा आयोजित धर्ना तथा बृहत विरोध सभालाई सम्बोधन गर्दै पूर्व अध्यक्ष दाहालले प्रधानन्याधिश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म न्यायलय शुद्धिकरण नहुने दावी गर्नुभयो । 

उच्च अदालत बार एशोसिएसन वीरगञ्जका अध्यक्ष प्रमोद प्रसादको अध्यक्षतामा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका केन्द्रिय सदस्य भिमसेन बञ्जाराले न्यायलयजस्तो पवित्र स्थानलाई प्रधानन्याधिश जबराले भ्रष्टाचार र अनियमितताको अखडा बनाएको आरोप लगाउनुभयो । आफ्नो मनोपली ढंगले सर्वाेच्च अदालतलाई चलाउन खोज्ने र आफ्ना आसेपासेलाई मात्रै नियुक्तीका साथै सरुवा बडुवा गराउने जबराको विदाई नै अन्तिम विकल्प भएको बञ्जाराले बताउनुभयो । 

कार्यक्रममा उच्च अदालत बार एशोसिएसन वीरगञ्जका पूर्व अध्यक्ष सुधिर कुमार कर्णले न्याधिश र कानुन व्यवसायीहरुको आन्दोलन आम जनताको न्यायका लागि पनि भएको जिकिर गर्नुभयो । 

कार्यक्रममा उच्च अदालत बार एशोसिएसन वीरगञ्जका पदाधिकारीसहित बारा जिल्ला अदालत, रौतहट जिल्ला अदालतका न्याधिश एवम् कानुन व्यवसायीहरुको उल्लेख्य उपस्थिती रहेको उच्च अदालत बार एशोसिएसन वीरगञ्जका कोषाध्यक्ष प्रज्वल अधिकारीले जानकारी दिनुभयो । 

यसअघि आजै वीरगञ्जसहित देशैभरका १८ वटा उच्च अदालतमा न्याधिश एवम् कानुन व्यवसायीहरुले धर्ना दिएका थिए । यस्तै भोली बिहीवार बारा जिल्ला अदालत र शुक्रवार रौतहट जिल्ला अदालतमा धर्ना तथा बृहत विरोध सभा गर्ने कोषाध्यक्ष अधिकारीले बताए । 

Back to top