×

वीरगञ्ज २९ कार्तिक । छोटो समयमा बढी पैसा कमाउने उदेश्यले खोलेका जगदीश अग्रवालको निम्बस कम्पनीले उत्पादन गरेको शक्तिप्लेट दानामा वालुवा मिसाएर ठगी गरेको पाईएको छ । 

निम्बस ग्रुपको प्रोवायोटेक इण्डष्ट्रिज प्रा.लि.का संचालक जगदिश अग्रवालले उत्पादन गरेकोे दानामा अत्याधिक वालुवा फेला परेकोे छ । 

मोटो दाना भएकोे ३५ केजीको बोरामा चारकिलोग्राम बढी बालुवा फेला परेको किसानहरुले बताएका छन् । 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वाकी पशुपालक किसान मेनुका अधिकारीले एककिलो दानामा सवासय ग्रामबढी वालुवा भेटिएको बताएका छन् ।

दानामा फेला परेको वालुवा देखाउँदै अधिकारीले किसान ठग्न कम्पनीले दानामा बालुवा मिसाएको हुनसक्ने बताए । 

केहीदिन अघिबाट बेलुका दाना भिजाउने र विहान गाईलाई खुवाउने क्रममा बालुवा फेला परेपछि तनावमा परेको वहाँले बताए । दानामा अत्यधिक बालुवा पाईएको छ, वहाँले बताए ।

यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर १६ झिट्कैंयाका किसान राजकिशोर कुश्वाहले निम्बसको शक्ति प्लेट दानामा बालुवा हालेर कम्पनीले किसान ठगी गरिरहेको गुनासो गरेका छन् । 

पौष्टिक आहार खुवाएर दुध उत्पादन वृद्धि गर्न महँगोमा दाना किन्ने गरेको तर कम्पनीले बालुवा हालेर पशुको स्वास्थ्यमा खेलवाड गरिरहेको वहाँले बताए । 

यस्तो कम्पनीहरुको उत्पादन बन्द गर्ने र संचालक जगदिश अग्रवाललाई कार्वाही गर्नु पर्ने वहाँको भनाई छ ।

दुध उत्पादक किसानहरुले दुध बढ्ने लोभमा चर्को मुल्यमा निम्बस ग्रुपको उत्पादन स्थानिय डेरीहरु मार्फत खरिद गर्दै आएका छन् । 

शक्ती प्लेट दाना करिब ३ बर्ष अघिबाट विक्रि वितरण गर्दै आएको हो । यस अघि पनि यस्तो समस्या आएको र गुनासो गरेपछि सुधार भएको डुमरवाना डेरीका कम्पनी ब्यवस्थापक दिपक घिमिरेले बताए । 

पशु आहारमा दानामा अखाध्य वस्तु मिसाएर विक्रि वितरण गर्नु भनेको ठगी हो, घिमिरेले भन्नु भयो ।

बालुवाको अधिक सेवनले पशु स्वास्थमा गम्भीर समस्या आउने जीतपुरसिमरा उपमहानगरपालिका पशुसेवा विभाग प्रमुख पशु चिकित्सक प्रतित कुमार राईले बताए । 

दानामा बालुवा मिसाएर विक्रि वितरण गरेको पाईए त्यस्तो कम्पनीको उत्पाद विक्रि वितरणमा रोक लगाउनु पर्ने वहाँले बताए । 

कम्पनीका टेक्नीकल अफिसर निर्मल विष्टले भने दानामा खनिज तत्वका रुपमा २ प्रतिशतका दरले कैल्साईट अर्थात एकप्रकारको ढुँगाको धुलो मिसाउने गरिएपनि ठगि गर्ने उदेश्यले बालुवा नहालिएको बताए ।
 

Back to top