×

गुगलले अर्धवार्षिक रुपमा प्रकाशित गर्ने कन्टेन्ट रिमुभल ट्रान्सपरेन्सी रिपोर्ट सार्वजनिक गर्दै संसारका विभिन्न देशले आफ्नो प्लेटफर्मबाट विभिन्न सामग्री हटाउन दबाब दिने क्रम बढेको जनाएको छ । गुगलले सन् २०२१ को जनवरीदेखि जुन महिनासम्म कुन देशका सरकारबाट कति पटक र कति वटा सामग्री हटाउन अनुरोध आएको छ भन्ने जानकारीसहित यो रिपोर्ट प्रकाशित गरेको हो । 

फरक फरक देशले आफूले भने अनुसारको सामग्री हटाउनै पर्ने खालको कानुन बनाएर सोही कानुन विपरीत भएको भन्दै गुगललाई विभिन्न सामग्री हटाउन अनुरोध पठाउने गरेको गुगलले बताएको छ । 

‘यस्ता कानुनहरू विभिन्न देश र क्षेत्र अनुसार फरक फरक छन् । घृणात्मक अभिव्यक्ति, अश्लीलता, गलत जानकारी र बौद्धिक चोरीजस्ता विभिन्न कारण देखाएर सामग्री हटाउन अनुरोध आउने गरेको छ,’ गुगलको ट्रष्ट एण्ड सेफ्टी डिभिजनका उपाध्यक्ष डेभिड ग्राफलाई उद्धृत गर्दै गुगलले लेखेको छ । 

सन् २०२१ को सुरुवाती ६ महिनामा रुस, भारत, दक्षिण कोरिया, टर्की, पाकिस्तान, ब्राजिल, अमेरिका, अष्ट्रेलिया, भियतनाम र इन्डोनेसियाली सरकारी निकायबाट सबैभन्दा बढी सामग्री हटाउने अनुरोध आएको गुगलले जनाएको छ । 

इन्डोनेसियाले आफ्नो देशको जुवा कानुनको उल्लंघन गरेको भन्दै एकै पटकमा ५ लाख यूआरएल हटाउन गुगललाई अनुरोध गरेको थियो । गुगलका अनुसार तीमध्ये २० हजार यूआरएल हटाइएको छ भने बाँकी हटाउने कि नहटाउने भनेर निर्णय गर्न बाँकी छ ।

२०२१ को पहिलो ६ महिनामा नेपालको तर्फबाट भने नेपाल प्रहरी र सरकारी निकायबाट कूल ६ पटक गरी ९ वटा सामग्री हटाउन अनुरोध पाएको गुगलको तथ्यांकमा उल्लेख छ । - टेकपाना

Back to top