×

स्मार्टफोनको बजार जटिलसँगै रमाइलो पनि छ । समयअनुसार प्रयोगकर्ताको प्राथमिकताका विषय परिवर्तन हुँदै जान्छन् ।

आजभन्दा केही वर्ष अघिसम्म कुनै पनि स्मार्टफोनमा ६४ जीबी इन्टर्नल स्टोरेज धेरै हुन्थ्यो । तर, आज लो रेन्जको स्मार्टफोनमा समेत ६४ जीबी इन्टर्नल स्टोरेज कम हुन थालेको छ ।

त्यस्तै कुनै समय ५ मेगापिक्सेलको शुटर भए ठूलो हुने अवस्था आज परिवर्तन भएको छ ।

यसरी स्मार्टफोनमा आएको परिवर्तनसँगै प्रयोगकर्ताको प्राथामिकता पनि परिवर्तन हुँदै गएको छ ।

यसैलाई मध्यनजर गर्दै ‘अन्टुट बेन्चमार्क’ ले सन् २०२१ को तेस्रो त्रैमासिकमा आइपुग्दा स्मार्टफोनमा प्रयोगकर्ताको प्राथामिकता केमा छ भन्ने विषयमा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

अध्ययनले स्मार्टफोनको डिस्प्ले, प्रोसेसर, इन्टर्नल स्टोरेज, र्‍यामलगायत विभिन्न सेक्सनका आधारमा प्रयोगकर्ताको प्राथामिकता छुट्याएको छ ।

स्क्रिन साइजः

आजभन्दा केही वर्ष अघिसम्म ५ इन्चको स्क्रिन नै सबै स्मार्टफोनको मापदण्ड जस्तै थियो । स्मार्टफोन उद्योग विस्तार हुँदै आउँदा आज ६ इन्चको स्क्रिन पनि कम हुन थालेको छ । अध्ययनअनुसार प्रयोगकर्ताको प्राथामिकतामा अहिले ६.६ इन्चको डिस्प्ले परेको छ ।

अध्ययनमा सहभागीमध्ये ३२.४ प्रतिशतले स्मार्टफोनमा ६.६ इन्चको डिस्प्ले उपयुक्त हुने बताएका छन् । त्यस्तै ६.७ इन्च रुचाउने २० प्रतिशत रहेका छन् । यसको अर्थ आज प्रयोगकर्ताको रोजाइमा ठूलो स्क्रिन पर्न थालेको छ ।

स्क्रिन रेजोलुसनः 

अध्ययनले स्क्रिन रेजोलुसनका आधारमा पनि प्रयोगकर्ताको प्राथमिकतालाई केलाएको छ । केही समय अघिसम्म स्क्रिन रेजोलुसन प्रयोगकर्ताको प्राथामिकतामा पर्दैन थियो । तर, आजको दिनमा १०८०पी अर्थात् एचडी डिस्प्ले धेरैको रोजाइमा रहेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार ६०.६ प्रतिशतले १०८०पी डिस्लेलाई प्राथामिकतामा राख्ने गरेको बताएका छन् । हुन त पछिल्लो समय धेरैजसो स्मार्टफोनमा हाई रेजोलुसनयुक्त डिस्प्ले नै प्रयोग हुने गरेको छ ।

प्रोसेसर:

प्रोसेसरको बजारमा क्वालकमलाई उछिन्दै मिडियाटेक निकै अघि बढिसकेको छ । तर, मिडियाटेकको उपयोगिता हाई रेन्जका स्मार्टफोनमा भन्दा पनि मिडरेन्जका स्मार्टफोनमा बढी हुने गरेको छ । फ्ल्यागशिप स्मार्टफोनको हकमा भने क्वालकम स्वभाविक रुपमा अघि छ ।

यस्तोमा अध्ययनले पनि प्रयोगकर्ताको प्राथामिकतामा क्वालकम नै रहेको देखाएको छ । प्रतिवेदनअनुसार अध्ययनमा सहभागीमध्ये ६१.८ प्रतिशतले क्वालकम पहिलो रोजाइ रहेको बताएका छन् । त्यस्तै १९.१ प्रतिशतले मिडियाटेक प्राथामिकतामा पर्ने बताएका छन् ।

र्‍यामः

आजको समयमा स्मार्टफोनको र्‍याम सबैभन्दा चासोको विषय हो । किनभने कति जीबी र्‍याम छ, त्यसले तपाईंको मोबाइल त्यति नै छिटो काम गर्छ भन्ने हो । अध्ययनअनुसार प्रयोगकर्ताको प्राथामिकतामा ८ जीबी र्‍याम परेको छ ।

अध्ययनमा सहभागीमध्ये ४९.८ प्रतिशतले ८ जीबी आफ्नो प्राथामिकता रहेको बताएका छन् । त्यस्तै २६.६ प्रतिशतले १२ जीबी र १६.६ प्रतिशतले ६ जीबी आफ्नो प्राथामिकता रहेको बताएका छन् ।

इन्टर्नल स्टोरेजः

अन्टुटुको अध्ययनअनुसार प्रयोगकर्ताको रोजाइमा १२८ र २५६ जीबी इन्टर्नल स्टोरेज पर्ने गरेको छ । यी दुई भेरियन्टलाई प्राथामिकतामा राख्नेको संख्या ८९.९ प्रतिशत छ । जसमा २५६ जीबी भेरियन्ट ४५.३ प्रतिशत र १२८ जीबी भेरियन्ट ४४.६ प्रतिशत छ ।

५१२ जीबी भेरियन्टलाई प्राथामिकतामा राख्नेको संख्या जम्मा २.६ प्रतिशत छ । भने, ६४ जीबी भेरियन्टलाई प्राथामिकतामा राख्ने प्रयोगकर्ता ६.३ प्रतिशत रहेकाे साे अध्ययनले देखाएको छ । - टेकपाना

Back to top