×

वीरगञ्ज २७ असोज । यो वर्षको बडादशैंमा लत्ताकपडाको मूल्य बढेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारमा नै लत्ताकपडाको उत्पादन लागत बढेको र आयात गर्दाको ढुवानी भाडासमेत बढेकाले हरेक किसिमका लत्ताकपडाको मूल्य बढेको व्यापारीहरुले बताएका छन् ।

कोरोना महामारी शुरु भएयता आयातकर्ता व्यापारीहरुले ढुवानी भाडा चार गुणासम्म बढी मूल्य तिरेका छन् । उत्तरीनाका पुर्णरुपमा सञ्चालन हुन नसक्दा सडक मार्ग हुँदै आउनु पर्ने लत्ताकपडा समुद्रिमार्ग हुँदै भारतको बाटोबाट आयात गर्नु परेको छ । यसले गर्दा ढुवानी भाडा महंगो हुन गइ मूल्य बढेको हो । फेन्सी, थान कपडादेखि जुत्ता चप्पल सबैको मूल्य बढेको व्यापारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार, यो वर्ष लत्ताकपडामा २० प्रतिशतभन्दा धेरै मूल्यवृद्धि भएको छ। काठमाडौंको असनस्थित फेन्सी कपडाका थोक व्यापारी राजेश घिमिरेले यसअघि १ हजार ५०० रुपैयाँसम्म पर्ने जुनसुकै फेन्सी आइटमको मूल्य अहिले २ हजार रुपैयाँसम्म पुगेको बताए । हरेक आइटमका लुगा कपडामा ५०० देखि ६०० रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले बताए ।

‘कपडाको मूल्य बढे पनि किन्ने ग्राहक आएकै छन् । धनिगरिब सबैले जसरी पनि दशैंमा एकजोर नयाँ लुगा लगाउनै पर्छ भन्ने सोच भएकाले व्यापार पनि अन्य समयको तुलनामा वृद्धि हुने गर्दछ । सामान्य अवस्थामा दशैंको समयमा लत्ताकपडाको व्यापार करीब ४० प्रतिशत सम्मले बढ्ने गर्दछ,’ उनले भने ।

कपडाको मूल्य बढेपछि सर्वसाधारण ग्राहकमा त्यसको असर परेको छ । गत मंगलवार भृकुटि मण्डपमा दशैंका लागि लुगाकपडा किन्न आएका दिपेश पुनमगरले कपडाको भाउ छोइनसक्नु भएको गुनासो गरे ।

‘चर्को मूल्यका कारण चाडपर्वमा पनि नयाँ लुगा लगाउन मुस्किल पर्ने अवस्था छ । १५ हजार रुपैयाँ बोकेर पाँच जनाको परिवारलाई लुगा किन्न आएको यतिले नपुग्ला जस्तो देखियो,’ उनले भने ।

यसवर्ष महामारीको प्रभावका कारण लत्ताकपडाको व्यापार हुनु पर्नेजति नभएको व्यापारीहरुको अनुभव छ । सामान्य अवस्थामा चाडपर्वलाई लक्षित गर्दै व्यापारीहरुले करीब ३ अर्ब रुपैयाँसम्मको तयारी कपडा आयात गर्ने भए पनि यसवर्ष महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेकाले व्यापार कम हुने आकलन गर्दै अघिल्ला वर्षहरुका तुलनामा कम मात्र कपडा आयात गरिएको छ । - आर्थिक अभियान

Back to top