×

बीरगञ्ज १३ असोज । दशैँ तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा बीरगञ्जमा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्रता दिएको छ ।


अनुगमनको क्रममा उपभोक्तालाई ठगी गरेको आरोपमा बीरगञ्जका ९ वटा पसललाई मंगलबार कारबाही गरी ५० हजार जरिवाना गरेको छ ।


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा बीरगञ्जको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, बीरगञ्ज उद्योग वाणिज्य सघ, उपभोक्ता हित संरक्षण मञ्च बीरगञ्जको प्रतिनिधि सहित टोली अनुगमन गरेका थिए ।


टोलीले घण्टाघर स्थित लक्ष्मी मोबाइल एन्ड इलेक्ट्रिक, बालाजी मोबाइल सेन्टर, विनोद मोबाइल सप्लायर्सलाई खरिद बिल बिजक नदेखाएकोले ५÷५ हजार रुपैयाँ जरिवाना गरेको थियो, भने श्री गणेश लक्ष्मी वस्त्रालयलाई १० हजार, ओम साई शु–सेन्टर, श्री नृसिंह जि श्यामबाबा इन्टरप्राइजेज, न्यु टिपटप ट्रेडर्स, राजा इन्टरप्राइजेज, बीरगञ्ज फैशन सेन्टरलाई समेत विल विजक नदेखाएपछि ५÷५ हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खंग खत्वेले बताए ।


उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेकालाई सोही ऐनको दफा ३९ बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा बीरगन्जको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीले बताए ।
 

Back to top