×

आफ्नो संवेदनशील तस्वीर अथवा भिडिओ लुकाउनका लागि गुगलले चाँडै नै गुगल फोटोमा ‘लक फोल्डर’ फिचर उपलब्ध गराउने भएको छ ।

एन्ड्रोइड ६ देखि माथिका सबै फोनमा उपलब्ध हुने यो फिचरअन्तर्गत प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडिओ एउटा छुट्टै फोल्डरमा लक गरी राख्न सक्नेछन् ।

साथै सो फोल्डरलाई पासकोड वा बायोमेट्रिक पासवर्ड प्रयोग गरेर लक पनि गर्न सकिनेछ । यो फिचर नयाँ पिक्सेल फोनहरूमा गत जुन महिनामा नै उपलब्ध भइसकेको छ ।

यद्यपि अन्य एन्ड्रोइड फोनका लागि भने यो कहिले उपलब्ध हुन्छ भनेर कम्पनीले कुनै मिति तोकेको छैन । यो फिचरले गर्दा प्रयोगकर्तालाई आफ्ना फोटो र भिडिओहरू लक गर्न अर्को एप डाउनलोड गर्नुपर्ने बाध्यता हटेर जानेछ ।

गुगलका अनुसार यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले गुगल फोटोको लाइब्रेरी अप्सनअन्तर्गत युटिलिटीमा गएर त्यहाँ उपलब्ध हुने ‘लक्ड फोल्ड’ मा क्लिक गरी आफ्नो फोटो र भिडिओ लक गर्न मिल्नेछ ।

तपाईंले फोल्डर क्रियट गरेर विस्तारै अन्य फोटोहरू पनि पछि मुभ गर्न सक्नुहुनेछ। पिक्सेलको फोनमा भने तपाईंले फोटो सिधै लक फोल्डरमा सेभ हुने गरी खिच्न सक्नुहुन्छ ।

याद गर्नुपर्ने कुरा चाहिँ के हो भने तपाईंले डाइरेक्ट लक फोल्डरमा सेभ गरेका फोटो क्लाउडमा भने सेभ हुँदैन । टेकपाना

Back to top