×

वीरगञ्ज, ९ असोज । असार मसान्त सक्किएपछि भ्रमणमा जाने वीरगञ्ज महानगरपालिका कार्यालयका शाखा प्रमुखहरुको सपनाले सार्थकता पाउँदा सेवाग्राहीले सास्ती पाएका छन् ।

असोज ७ गतेदेखि १३ गतेसम्म घरबिदा लिएर कार्यालयका जिम्मेवार शाखा प्रमुखहरु भारत भ्रमणमा निस्किँदा सेवाग्राहीलाई समस्या भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, आन्तरिक लेखा परीक्षण शाखा प्रमुख हरिशंकर कुर्मी, सहरी पूर्वाधार विकास महाशाखा प्रमुख राकेश साह, सहरी पूर्वाधार विकास महाशाखा प्रकाश अधिकारी, लेखा अधिकृत रूपनारायण राउत र नायब सुब्बा राजेश गिरीले एकैपटक बिदा लिएको महानगर स्रोतले जनाएको छ ।

असार मशान्तमा काम सक्किएपछि विभिन्न ठेकेदारहरुसँग कमिशनको शुभ लाभ मुठ्याई भ्रमणमा निस्किएको टिकाटिप्पणी बजारमा हुन थालेको छ ।

एकै पटक कार्यालयका जिम्मेवार कर्मचारीहरु बिदामा गएपछि सेवाग्राहीहरु खाली हात फर्किन बाध्य भएको एक सेवाग्राहीले दुखेसो पोखे । बिदा एक हप्ताका लागि लिएको भएपनि कम्तीमा १० दिनको भ्रमण योजना बनेको एक कर्मचारीले नाम नबताउने शर्तमा बताए ।

Back to top