×

वीरगञ्ज ८ असोज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित वीरगञ्ज आइसिपी भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/७९ को दुई महिनामा ३२ अर्ब ५५ करोड ३१ लाख ३० हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

भन्सार विभागले तोकेको लक्ष्यभन्दा पनि १८ प्रतिशत बढी राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले बताए ।

कोरोना संक्रमण नियन्त्रणमा आएसँगै आयात निर्यात बढेपछि बीरगन्ज भन्सार कार्यालयलाई अर्थमन्त्रालयले तोकेको लक्ष्यभन्दा पनि राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो ।

वीरगञ्ज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले दुई महिनामा २७ अर्ब ५३ करोड, ६९ लाख ३९ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको भए पनि लक्ष्यभन्दा ५ अर्ब १ करोड ६१ लाख ९१ हजार बढी राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/०७९ को दुई महिनामा भन्सार राजस्वतर्फ ११ अर्ब ७२ करोड ५८ लाख ९७ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ १२ अर्ब २६ करोड ४९ लाख ६६ हजार राजस्व असुली भएको छ ।

त्यसैगरी, अन्त शुल्क तर्फ ४ अर्ब ४१ करोड ५० लाख २२ हजार असुली गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अर्यालले बताए ।

त्यस्तै, वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ २ अर्ब ७ करोड ४७ लाख ४२ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ २२ करोड ६ लाख ९६ हजार असुली गरेको छ ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले सडक निर्माण तथा सम्भार दस्तुर तर्फ १ अर्ब २३ करोड ७७ लाख २८ हजार राजस्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

चाडपर्व भित्रिने क्रम सुरु भएको र कोरोना नियन्त्रणमा आएसँगै आयात निर्यात व्यापारमा वृद्धि भएपछि वीरगञ्ज भन्सार कार्यालयको राजस्व असुली लक्ष्यभन्दा बढी भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउँनु भयाे ।

Back to top