×

वीरगञ्ज ६ असोज । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले यही असोज १३ गते राष्ट्रिय भेला गर्ने भएको छ। 

पछिल्लो समय यस व्यवसायले भोग्नुपरेका समस्या र त्यसको निराकरणका उपायबारे छलफल गर्न महासंघले राष्ट्रिय भेला गर्न लागेको हो। 

खासगरी केबल टिभी व्यवसाय सरकारको अस्थिर नीतिका बन्द हुने अवस्था आएको भन्दै महासंघले सरकारसँग व्यवसाय जोगाइदिन आग्रह गरेको छ। 

पोलको भाडा बढेको, गैरकानुनी प्रसारण रोकिएको र क्लिनफिड प्रभावकारी कार्यान्वयनमा नआएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ। 

यसले केबल टिभी व्यवसाय धरापमा परेको र यस क्षेत्रको लाखौँ रोजगारी गुम्ने अवस्था आएको महासंघको भनाइ छ। 

महासंघले लागत र प्रतिफलको तथ्यपरक वैज्ञानिक अध्ययन अनुसन्धान हुनुपर्ने, एडमिनिस्ट्रेटिभ कस्ट रिकभर हुनुपर्ने, सरोकारसँग छलफल गरी पोल भाडा तय गर्नुपर्ने, गैरकानुनी प्रसारण बन्द गर्नुपर्ने, राइट अफ वे र क्लिनफिड कानुनबमोजिम सम्बोधन हुनुपर्ने लगायतका माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ। 

Back to top