×

सरकारी ढिला सुस्तीका कारण करिब एक वर्ष अघि नै लिखित तथा ट्रायल परीक्षा पास गरेका ७ लाख नागरिक अझै स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका छन् । लाइसेन्स छाप्न नसक्दा समयमै वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कोभिड १९ को महामारीको कारण देखाउँदै गत वैशाख १६ देखि स्थगित सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन अझै खुल्न सकेको छैन । विभागका प्रवक्ता डा. लोकनाथ भुसाल प्रक्रियामा रहेका सात लाख नागरिकलाई स्मार्ट लाइसेन्स वितरण नगरी नयाँ लाइसेन्स खुलाउन नसकिने बताउँछन् ।

‘अबको एक महिनामा १४ लाख स्मार्ट लाइसेन्सका लागि कार्ड आयात गर्दै छौँ,’ उनी भन्छन्, ‘सबै सात लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्न मात्रै कम्तिमा छ महिनाको समय चाहिन्छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता नै यस अघि पास भइसकेका सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्नु हो ।’

विभागका अनुसार हालसम्म देशभर २० लाख प्रति स्मार्ट लाइसेन्स वितरण गरिसकिएको छ । विभागसँग स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने एउटा मसिन मात्रै छ । जसले प्रति घण्टा ४५० प्रति तयार पार्ने क्षमता राख्दछ ।

२४ घण्टा सातै दिन मसिन सञ्चालन गर्दा समेत सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट गर्न करिब अढाई महिना लाग्ने देखिन्छ । यस बाहेक करिब ३० हजार जनाले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएको भए पनि ट्रायल दिन भने पाएका छैनन् ।

यस हिसाबले प्रक्रियामा रहेका सबैलाई लाइसेन्स वितरण गरी नयाँ लाइसेन्स खोल्न छसात महिना लाग्ने विभागका प्रवक्ता भुसालको भनाई छ । ‘यद्यपि विभागले नयाँ लाइसेन्सका लागि आवेदन खोल्ने विषयमा कस्तो निर्णय लिन्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न,’ उनी भन्छन् ।

त्यसो त विभागले स्मार्ट लाइसेन्स वितरण गर्न नसकेपछि एक वर्षे मान्य अवधि रहेको क्यूआर कोड सहितको लाइसेन्स समेत वितरण गर्न थालेको छ । प्रति घण्टा ४५० कै सङ्ख्यामा लाइसेन्स प्रिन्ट गर्नसक्ने क्षमता राख्ने यस्तो मसिन करिब सबै यातायात कार्यालयमा रहेको विभाग स्रोतले जनाएको छ ।

विभागका एक जना प्राविधिक अधिकृत क्यूआर कोडमा आधारित लाइसेन्सलाई नै स्थायी लाइसेन्सको रुपमा जारी गर्ने विकल्प समेत रहेको बताउँछन् । 

टेकपाना

Back to top