×

वीरगञ्ज ५ असोज । अब स्थानीय तहको एपबाटै कर तथा बिजुलीको बिल भुक्तानी गर्न सकिने भएको छ । देशभर रहेका ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत यस किसिमको सुविधा दिन थालिएको हो ।

विभागका अनुसार हाललाई २१ ओटा स्थानीय तहको कर प्रणाली एपमा आवद्ध  भइसकेको छ । जसमा काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका र धुलिखेल नगरपालिका रहेका छन् ।

त्यस्तै कीर्तिपुर, गोदावरी, कावासोती, मध्यबिन्दु, गोकर्णेश्वर र तिलोत्तमा नगरपालिकाको कर प्रणाली समेत स्थानीय तहको एपमा जोडिएको छ । नमोबुद्ध, बेलौरी, बर्दघाट, बनेपा, पुनर्वास, धनगढीमाई, थुलुङ र दुधकोसी नगरपालिकाको कर अनलाइनबाट भुक्तानी गर्ने र त्यसको विवरण हेर्ने सुविधा एपमा रहेको छ ।

यसका लागि सेवाग्राही तथा करदातालाई सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको प्रयोगकर्ताको विवरण आवश्यक पर्दछ । आगामी दिनमा स्थानीय तहसँग सम्बन्धित विभिन्न करहरूको भुक्तानीका साथै अन्य सेवाहरू समेत यसमा थप गर्दै सबै स्थानीय तहमा यसलाई विस्तार गरिने विभागले जनाएको छ ।

‘यो मोबाइल एपबाट स्थानीय तहमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका रहनेछ,’ विभागले विश्वास व्यक्त गर्दै भनेको छ । १८ साउन २०७५ मा सार्वजनिक यो एप सम्पूर्ण स्थानीय तहको पहिचान हुने गरी तयार पारिएको छ ।

प्रयोगकर्ताले एन्ड्रोइड र आईओएसमा गएर स्थानीय तहको एप (Local Level) डाउनलोड गर्न सक्नेछन् । यदि तपाईंको मोबाइलमा स्थानीय तहको एप छैन भने आईओएसका लागि यहाँ दबाउनुहोस् र एन्ड्रोइडका लागि यहाँ थिच्नुहोस् ।  टेकपाना

Back to top