×

वीरगञ्ज ।  प्रायः भारतीय पर्यटकहरुकै भरमा सञ्चालित सिमाना क्षेत्रका होटल व्यवसायीहरु नाम मात्रैको निषेधाज्ञाका कारण धरासायी अवस्थाबाट गुज्रिरहेका छन् । 
भारतसँग खुला सिमाना जोडिएको पर्सा जिल्लास्थित वीरगञ्जका होटल व्यवसायीहरु थिलथिलो परेका छन् । 

भारतीय सिमानाबाट निर्बाध रुपमा मानिसको आवागमन भइरहेपनि सवारी साधनको आवागमनमा लगाइएको रोक नहटाउँदा होटल व्यवसायीहरु मारमा परेका हुन् । 
बजार, व्यवसाय, विद्यालय, होटल, रेस्टुरेन्टसँगै फिल्म हलहरुसमेत खुलीसकेको अवस्थामा नाकाबाट सवारी आवागमनलाई हालसम्म पनि बन्द गर्नुको पछाडी सरकारको के स्वार्थ भन्ने प्रश्न पनि उब्जिएको छ । यद्यपी आन्तरीक पर्यटनहरुले मात्रै यहाँका होटल व्यवसायीहरु चल्न सक्ने अवस्था छैन । अँझ भन्ने हो भने सिमा नाकासँग जोडिएको शहरका होटलहरु छिमेकी राष्ट्रकै पर्यटकको भरमा चल्छन् । 

होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तका अनुसार धेरै व्यवसायीहरु कोरोना महामारीकै कारण व्यवसायबाटै पलायन हुने अवस्थामा छन् भने कति व्यवसायी पलायन भइसकेका छन् । भारतीय निजी सवारीसाधनको आवागमन तत्काल नखोलेसम्म होटल व्यवसायले गती लिन नसक्ने अध्यक्ष पन्तको भनाई छ । पन्त थप्छन्, ‘सिमानामा सर्वसाधारणको पैदल आवागमन र अन्य गतिविधि सामान्य अवस्थामा फर्किइसकेको हुँदा गाडीमात्रै रोक्नुको कुनै तुक छैन ।’ 

व्यवसाय नचल्दा बैंकको ब्याज, होटेलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युतलगायत नियमित खर्चको भार बढिरहेको पन्त बताउँछन् । सबै सरोकारवालाले सवारी आगमन खोल्ने आश्वासन दिएपनि हालसम्म खोल्नेतर्फ कसैले पहल नगरेको पन्तको भनाई छ । 

अहिले सीमावर्ती क्षेत्रका नेपाल र भारत दुवैतर्फ संक्रमण नगण्य रहेको र अन्य दिनचर्या सामान्यजस्तै रहेकाले गाडीको आवागमन तत्काल खुलाउनुपर्ने व्यवसायीको माग छ । स्थानीय स्तरबाट माग सम्बोधन नभएको भन्दै व्यवसायीले प्रधानमन्त्रीलाई नै भेटेर आग्रह गर्ने योजना बनाएका छन् । व्यवसायीले यसबारेमा स्थानीय जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई पटकपटक आग्रह गरिसकेका छन् । केन्द्रको संयोजक रहेका प्रमुख जिल्ला अधिकारीले यो केन्द्रको निर्णय भएकाले आफूले केही गर्न नसक्ने बताउँदै आएका छन् ।

जिल्लाका प्रशासकहरू सिमानाबाट सर्वसाधारणको आवागमन रोक्न नसकिने स्वीकार गर्छन् । सवारी आवगामनमा रोक कायमै रहेपछि सर्वसाधारण पैदल हिँडेर सिमाना आरपार गर्न बाध्य छन् । पैदल आउजाउ नरोकिनु, तर सवारी चलाउन नपाउँदा सीमाक्षेत्रबाट आवागमन अस्तव्यस्त बनेको छ । यसले कोरोना संक्रमणको जोखिम झन् बढाएको विश्लेषण व्यवसायी र सरोकारका पक्षको छ । 
 

Back to top