×

थुप्रै चर्चा र हल्लाका बीच एप्पलले अन्ततः आईफोन १३ सार्वजनिक हुने मिति औपचारिक रुपमा घोषणा गरेको छ ।

एप्पल पार्क क्यालिफोर्नियाबाट सेप्टेम्बर १४ मा कम्पनीले ‘क्यालिफोर्निया स्ट्रिमिङ‘ ट्यागलाइन सहित भर्चुअल माध्यमबाट बहुप्रतिक्षित आईफोनको नयाँ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ ।

नयाँ सिरिजको फोनको नाम आईफोन १३ नै हुने अनुमान गरिएको छ । आईफोनको आधिकारिक घोषणामा भने फोनको कुनै नाम दिइएको छैन ।

नयाँ सिरिजका फोनहरू आईफोन १२ कै साइजमा आउने र धेरैजसो फिचरहरू एन्ड्रोइड फोनको जस्तै हुने पनि अनुमान गरिएको छ ।

त्यसैगरी नयाँ फोनमा हाई रिफ्रेस रेटसहित सानो डिस्प्ले नच र थप परिस्कृत क्यामेरा हुने बताइएको छ । हुन त एप्पलको यो नयाँ फोनमा हुने फिचरहरूको विषयमा ठ्याक्कै भन्न कठिन नै छ, यद्यपि यसमा नाइट मोड फोटोग्राफीको लागि राम्रो क्यामेरा हुने प्रयोगकर्ताहरूले आशा गरेका छन् ।

नयाँ आईफोनको सार्वजनिक मिति घोषणा भएसँगै कम्पनीले आईओएस १५ पनि चाँडै सार्वजनिक गर्ने संकेत पनि देखिएको छ ।

यसको साथै एप्पलले अन्य डिभाइसहरूमा पनि काम गरिरहेको छ । आउने भर्चुअल कार्यक्रममा सो नयाँ डिभाइसहरूको पनि चर्चा हुने अनुमान गरिएको छ ।

एप्पलको पाइपलाइनमा भएको नयाँ डिभाइसहरूमा एप्पल वाचको सिरिच ७, इयरपड प्रो, म्याकबुक प्रो रहेका छन्, जुन डिजाइनदेखि फिचरसम्म थप विकसित भएर आउने बताइएको छ ।

लामो पर्खाइ र धेरै अफवाहबीच कम्पनीले अन्ततः कार्यक्रमको घोषणा गरेको छ ।

यद्यपि केही फिचरहरू नयाँ फोनमा नहुने भएको छ । जस्तोकि बालबालिकामाथि हुने दुर्व्यवहार डिटेक्ट गर्न सकिने इमेज स्क्यानिङ फिचर एप्पलले तत्कालका लागि स्थगित गरेको छ ।  टेकपाना

Back to top