×

वीरगञ्ज २५ भदौ । अब नेपालका सबै स्थानीय तहमा भुक्तानी विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार यो अनलाइन प्रणाली सुरुवात गरेको हो ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत विद्युतीय कोष हस्तान्तरण गर्न सकिने यो प्रणाली उद्घाटन गर्दै महालेखा नियन्त्रक सुमनराज अर्यालले वास्तविक समयमै भुक्तानी हुनुका साथै छिटो, छरितो, भरपर्दो र विश्वनीय लेखाङ्कन र प्रतिवेदनका लागि सूत्रको महत्वपूर्ण योगदान रहने बताए ।

यो प्रणाली ७५३ वटै स्थानीय तहमा कार्यान्वयनमा आएको बताउँदै उनले अब सबै स्थानीय तहको भुक्तानी, लेखांकन विद्युतीय माध्यमबाट वास्तविक समयमा हुने जानकारी दिए ।

उनले शासकीय संयन्त्रमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारीको क्षमता विकासमा विशेष पहल गरिने उल्लेख गरे ।

साथै यो प्रणालीको विकासले स्थानीय तहमा पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न थप बल पुग्ने उनकाे विश्वास छ ।

चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो समेत हुनेछ । यसले प्रक्रियागत झन्झट कम गरि कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने बताइएको छ । टेकपाना

Back to top