×

वीरगञ्ज, २१ भदौ । बिरामीको ज्यानसँग खेलवाड गर्ने डा. सलमा बानुको बचाउमा नेपाल चिकित्सक संघ नारायणी शाखाले प्रेस विज्ञप्ती जारी गरेपछि संघको आलोचना भएको छ । 

सामान्य प्रसुती हुने अवस्थामा पनि बिरामीसँग रकम असुल्ने अभिप्रायले शल्यक्रिया गरेर प्रसुती गराउने आरोप लाग्दै आएकी डा. बानुको लापरवाहीकै कारण पर्साको पोखरिया नगरपालिका निवासी २५ वर्षीय निसा गुप्ताको स्वास्थ्य जटिल बनेको छ । 

चिकित्सकको क्षेत्रमा उच्च गरिमा बोकेको संघले डा. बानुको लापरवाही भएको स्पष्ट हुँदा पनि गल्ती छैन भनेर बानुको बचाउमा लाग्नुले संघको गरिमा घटाएको चर्चा हुन थालेको छ । 
१४ गते शल्यक्रिया गरेकी निसा गुप्ता १७ गतेसम्म डिस्चार्ज भएर घरमा सन्तान प्राप्तीको खुशी बाँड्नुपर्नेमा स्वास्थ्यमा झनै समस्या आएर थप उपचारका लागि काठमाण्डौ जाने विवशता आउने थाहा भएको भए सायद गुप्ताले शल्यक्रिया नै गर्ने थिइनन् होला । 

यद्यपी संघले जारी गरेको विज्ञप्तीमार्फत डा.सलमामाथि कपोकल्पित र मिथ्या आरोप लगाइएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । शल्यक्रिया गर्ने भनेकै केही सुधार होस् भनेर हो । तर शल्यक्रियापश्चात झनै स्वास्थ्यमा समस्या देखिन्छ भने शल्यक्रियाकै क्रमको त्रुटी हुनुपर्ने चिकित्सहरु नै बताउँछन् । 

अहिले काठमाण्डौको टिचिंग हस्पिटलमा उपचाररत गुप्ताको शल्यक्रियाको क्रममा नशा काटिएको पाइएको  त्याँहाका चिकित्सकलाई उद्धत गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष मनोज कलवारले बताए । उनका अनुसार गुप्ताको फेरी शल्यक्रिया गर्नुपर्ने देखिएको छ । 

चिकित्सक संघ नारायणी शाखाका सचिव डा.उदयनारायण सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिकित्सक विरुद्ध आउने यस्ता समाचारले उनीहरुको मनोबल ह्रास हुन गई समाजमा यसको गम्भीर तथा दूरगामी असर पर्ने भन्दै ‘इमोशनल ब्ल्याकमेल’ गर्न खोजिएको छ । जसको आशय चिकित्सकले जस्तोसुकै गलत क्रियाकलाप गरे पनि उनीहरुको विरोध गर्नु हुँदैन भन्ने बुझिन्छ ।

गलत ढाकछोप गर्न किन खोजियो भन्ने प्रश्नकोे जवाफमा संघका सचिब डा. सिँहले समस्या देखिएको र शल्यक्रिया भएको फरक फरक भएको प्रतिक्रिया दिए । उनले शल्यक्रिया गरिएको भाग र समस्या देखिएको भागबिच कुनै सम्बन्ध नरहेको बताए । 


 

Back to top