बीरगञ्ज २७ साउन । वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू आउँदो आइतवारदेखि खुल्ने भएका छन् ।
वीरगञ्ज महानगरपालिकाले आइतवारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो । महानगरपालिकाले बुधबारआयोजना गरेको सरोकारवालाहरूको छलफलले विद्यालय खोल्न महानगर नेतृत्वलाई आग्रह गरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णयमा पुगेको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।
यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएका विद्यालय अहिलेसम्म पुनः सञ्चालनमा आउन सकेका छैनन् । वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रणमा आएकाले महानगरले डेढ महीना अघि नै विद्यालय सञ्चालन गर्न खोजेको थियो । जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति नदिएकाले अहिलेसम्म विद्यालय सञ्चालन गर्न नसकिएको नगर प्रमुख सरावगीले बताए ।
कोरोना नियन्त्रणमा आएकाले ‘ग्रीनजोन’ मा परेको वीरगञ्जमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्न सकिने महानगरले बताउँदै आएको थियो । स्थानीय प्रमुख जिल्लाअधिकारी संयोजक रहेको संकट व्यावस्थापन केन्द्रले स्वीकृति दिएको थिएन ।
यसअघि मन्त्रिपरिषद्ले विद्यालय बन्दगर्ने निर्णय गरेकाले मन्त्रिपरिषद्बाटै पुनः सञ्चालनको निर्णय आएमात्रै विद्यालय चलाउन पाइने अडान केन्द्रको रहँदै आएको छ । स्थानीय प्रशासनको अडानका कारण विद्यालय खुलाउने डेढ महीनादेखिको प्रयास असफल भएपछि नगर प्रमुख सरावगीले सरोकारवाला पक्षको भेला राखेर सहयोगको आग्रह गरेका हुन् ।
राजनीतिक दल, शिक्षक संघ संगठनका अगुवा, अभिभावकलगायतको सहभागिता रहेको छलफलले विद्यालय खोल्नुपर्ने निष्कर्ष निकालेपछि महानगर विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेको हो । शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने भएपनि स्थानीय प्रशासनको असहयोगका कारण विद्यालय बन्द गर्नुपरेको गुनासो सरावगीले गरे ।
कोरोना संक्रमणको जोखिमकायमै रहेकाले स्वासथ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न साथ दिने सहभागीहरूले बताएकाथिए ।