×

वीरगञ्ज २७ साउन । विभिन्न शीर्षकमा गरिएको झन्डै ७ करोडको फर्जी टेण्डरको कागजातको पारदर्शिता माग गरी पर्साको पोखरिया नगरपालिकामा ज्ञापन पत्र बुझाएका पोखरिया युवा समाजका युवा फेरी आन्दोलित भएका छन् । 

आफूहरूले बुझाएको ९ बुँदे मागको कागजात २ दिनभित्र अर्थात् बुधवार दिने नगरपालिकाले आवश्वास दिएपनि आफूहरू नगरपालिकामा आउँदा मेयर, उप–उपमेयर र प्रशासकीय अधिकृत लगायत कोही पनि नआएको भन्दै युवा समाजले नगरपालिका कार्यालय अगाडी नै फेरी आन्दोलन गरेका हुन् ।

पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाको नेतृत्वमा २ दिन पहिले आन्दोलन गरी युवाहरुले नगर प्रमुख दिपनारायण रौनियारलाई ९ बुँदे ज्ञापन पत्र बुझाएका थिए । 
    
नगरपालिकाले दुई दिनपछि त्यो सबै माग पारदर्शिता गरिने आवश्वास दिए पनि हामी बुधवार उक्त कागजात माग गर्न आउँदा फर्जी टेण्डर दबाउने नियतले मेयर, उप–मेयर र प्रमुख प्रशासकीय अधिकृत लगायत कोही पनि नआएको युवा समाजका सदस्य सुजित गिरीले बताए ।

पोखरिया नगरपालिकामा लुटपाट गर्न जनप्रतिनिधि र कर्मचारीकै डिजाइनमा ७ करोडको बजेट किर्ते गरी टेन्डर भएको भन्दै पोखरिया युवा समाज आन्दोलित भएको हो । 

पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, उप–मेयर सल्मा खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको डिजाइनमा पोखरिया नगरपालिकाको करिब ७ करोडको योजना किर्ते गरी टेन्डर भएको खुलेपछि स्थानीय युवा आन्दोलित भएका हुन् ।

युवा समाजका अध्यक्ष भागवान दास तात्वाका अनुसार पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको मुख्य डिजाइनमा ३० प्रतिशत कमिसनको मिलेमतोमा ७ करोडको बजेट किर्ते गरी टेन्डर भएको थियो । 

आफू सरुवा हुने थाहा पाएपछि करिब ४÷५ महिना पहिले रातारात कमिसनको कुरा मिलाई तत्कालीन अधिकृत गिरीले नै जनप्रतिनिधिको समन्वयमा करोडौँको योजना किर्ते टेन्डर गराएका थिए । 

सो कुरा थाहा पाएपछि सोको पारदर्शिताका लागि निरन्तर आवाज र आन्दोलन गर्दै आए पनि उक्त सूचना लुकाउन मेयर, उप–मेयर, प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत लगायत जनप्रतिनिधि र कर्मचारी नआएको गिरीले बताए ।

तत्कालीन अधिकृत अमित गिरी करिब डेढ वर्षको कार्यकालको अवधिमा करोडौंको भ्रष्टाचार गरे पनि उनीमाथि कुनै कारबाही र छानबिन नहुनुले जनताको विकासको लागि आएको करोडौँ रकम लुटेर उम्केको युवाहरुको आरोप छ । 

आफू सरुवा हुने बेलामा तत्कालीन प्रमुख प्रशासकीय गिरीले पोखरिया नगरपालिकाको अस्पतालमा पेन्ट गर्न, बर्वामा मन्दिर निर्माण, धर्मशालामा प्लास्टर, पोखरिया कृषि सेढ, पोखरियाको पानीटंकी परिसरमा गाडी पार्किङको लागि टिनको छानो निर्माण, पोखरिया नगरपालिका वडा नं. २ लमरियामा वडा कार्यालय भवन निर्माण, पोखरियामै सडक तथा नाला ढलान निर्माण, स्कुलको मर्मत सम्भार, कृषि क्षेत्रमा छुट्ट्याएको बजेट लगायतका योजना सूचना नै ननिकाली किर्ते टेन्डर गरेको अध्यक्ष तात्वाको अरोप छ ।

यता, नगर उप–प्रमुख सल्मा खातुनले ७ करोडको टेण्डरमा आफ्नो कुनै संलग्नता नरहेको विज्ञप्तिमार्फत जानकारी गराए पनि मेयर, उप–मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तिनै जनाको संलग्नता रहेको युवा समाजका सदस्य सुजित गिरीले बताए । 

अन्य करोडौँको योजना चलाई उप–मेयरले पनि व्यापक भ्रष्टाचार गरेकोले जनतासामु जान डराई रहेकी समाजका सदस्य गिरीले बताए ।

उनले भने, ‘‘मेयर, उप–मेयर, तत्कालीन प्रशासकीय अधिकृत लगायतको कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा नगरपालिकामा करोडौँको भ्रष्टाचार भएको छ । यो कुरा जनताले बुझिसकेका छन् । विज्ञप्तिमार्फत सफाइ दिएर साध्य छैन । जनताको बिचमा आउनु प¥यो नि ।’’

सदस्य गिरीले हालका प्रमुख प्रशासकीय अधिकृतको उक्त किर्ते टेण्डरमा कुनै संलग्नता नरहेको पनि बताउँछन् । 

यता, नगरपालिकाका मेयर दीपनारायण रौनियारले पोखरिया युवा समाजले माग गरेको सबै कागजात आइतबार नै अध्यक्ष भगवान दास तात्वालाई दिएको बताए । 

आफू विशेष कामले नगरपालिका कार्यालय नगएको भन्दै साढे ३ बजे बल्ल जान लागेको बताए । तर, युवा समाजका सदस्य गिरीले आफूहरूलाई काम गरेको योजनाको नाम मात्रै दिएको बताए ।

आफूहरूले फर्जी टेण्डर कस्को नाममा भयो, कसरी भयो, क–कस्को टेण्डरमा दस्तखत छ, के–के मापदण्ड पुरा गरिएको लगायतका विषय बारे जानकारी लिन खोजेको बताउँदै सदस्य गिरीले भने, ‘‘ नगरपालिकाले गोलमटोल गरी क्रिते टेण्डर लुकाउन खोजेको छ ।’’
 

Back to top