×

११ साउन ।  गत वर्ष मात्रै एप्पलले आईफोन १२ सार्वजनिक गरेको थियो र यही सेप्टेम्बरमा आईफोन १३ (अपेक्षित नाम) पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

केही महिनाभित्रै आईफोनको नयाँ फोन आउने भएपछि धेरै आईफोन मन पराउने प्रयोगकर्तालाई आईफोन १२ किन्ने अथवा आईफोन १३ लाई पर्खने भन्ने दुविधा बढेको छ ।

हुन त आफ्नो आवश्यकता र इच्छाअनुसार आईफोन १२ किन्ने वा नयाँलाई कुर्ने भन्ने टुंगो लगाउन सकिन्छ । यद्यपि नयाँ आएको एक वर्ष नबित्दै अर्को नयाँ फोन बजारमा आउने घोषणाले प्रयोगकर्तालाई दुविधामा राखेको छ ।

यदि तपाईं पनि दुविधामा हुनुहन्छ भने तल उल्लेखित विश्लेषणहरूले तपाईंलाई आफ्नो निर्णय गर्न सहज हुन सक्छ । 

पुरानो आईफोन बोकिरहनु भएको छ ? 

नयाँ फोन किन्नुको अर्थ हो, तपाईंले अहिले बोकिरहनु भएको फोन फिचरदेखि लिएर अन्य कुराहरूमा पुरानो हुनु । यदि तपाईं अहिले आईफोन ११ चलाइरहनु भएको छ भने तपाईंले अब अपग्रेड गर्ने बेला भइसकेको छ ।

तर यसको अर्थ आईफोन १२ नै लिनुपर्छ भन्ने चाहिँ होइन । यदि तपाईं सेप्टेम्बरसम्म कुर्न सक्नुहुन्छ भने आईफोन १२ लाई भुलेर आईफोन १३ नै लिनु तपाईंको लागि फलदायी हुनसक्छ ।

आईफोन १३ र आईफोन १२ का फिचरहरूमा खासै ठूलो भिन्नता नभएका कारण आईफोन १३ लिँदा तपाईंलाई थप फाइदा भने हुनसक्छ ।

तर यदि तपाईं आईफोन एक्स सिरिचको फोन चलाइरहनु भएको छ भने तपाईंका लागि ए१४ बायोनिक सीपीयु र ओएलईडी सहितको आईफोन १२ मा अपग्रेड हुनु लाभदायी हुनसक्छ ।

यति मात्र होइन, यदि तपाईंले बोकिरहनु भएको आईफोनको स्क्रिन फुटेको छ, ब्याट्रीमा समस्या छ र अन्य केही समस्याहरू छन् भने तपाईंले आईफोन १२ किन्नु फाइदाजनक हुन सक्छ । 

फाइभजीको आवश्यकता 

वायरलेस फाइभजीको उपलब्धता सहज नभइसकेको अवस्थामा हाललाई फाइभजी सपोर्ट गर्ने फोनको रुपमा बजारमा आएको आईफोन १२ हो ।

त्यसैले यदि तपाईं फाइभजी मोबाइल नेटवर्क प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंको लागि आईफोन १२ ठीक हुन सक्छ । तर आईफोन १३ मा पनि फाइभजी उपलब्धता हुने जनाइएको कारण अहिलेलाई आईफोन १३ कुर्नु पनि गलत हुने छैन । 

आईफोन १२ को सेरामिक सिल्ड डिस्प्ले 

आईफोन १२ को सबैभन्दा राम्रो पक्ष भनेको यसको सेरामिक सिल्ड डिस्प्ले हो, जुन मेटलको कभरभन्दा पनि सुरक्षित छ । यदि तपाईंको हातमा मोबाइल टिक्दैन र बारम्बार खसिरहन्छ अनि तपाईंसँग सेप्टेम्बरसम्म कुर्ने समय छैन भने तपाईं आईफोन १२ तिर लाग्न सक्नुहुन्छ  ।

तर आईफोन १३ पनि सेरामिक सिल्डसहित सार्वजनिक हुनसक्छ । यसको लागि भने तपाईंले सेप्टेम्बरसम्म कुर्नुपर्ने हुन्छ । 

नयाँ फिचरहरू 

आईफोन १२ सार्वजनिक भएको एक वर्ष पनि नबित्दै एप्पलले आईफोन १३ सार्वजनिक गर्दैछ भने पक्कै पनि १२ भन्दा १३ मा नयाँ फिचरहरू थपिएर आउँदैछ ।

यदि बजारमा अहिले चलिरहेको हल्ला साँचो हो भने आईफोन १३ १२० हर्जको डिस्प्ले सहित आउनेछ जबकी आईफोन १२ मा मात्र ६० हर्जको डिस्प्ले रहेको छ ।

त्यस्तै हरेक वर्ष झैँ यो पटक पनि एप्पलले आईफोन १३ को क्यामेरा केही परिमार्जन गर्नेछ । यसको अर्थ हो आईफोन १३ पर्खनु फाइदाजनक हुनेछ । 

मूल्य 

आफ्नो आवश्यकता र फोनको फिचरसँगै मोबाइल खरिद गर्ने कुरामा मूल्यले धेरै फरक पार्छ । आईफोन १३ अहिले बहुप्रतिक्षित फोन बन्दै गइरहेको छ 

कसैले पनि अनुमान लगाउन सकेका छैनन् कि यसको मूल्य कति हुनेछ भनेर र साथै यसमा आउने नयाँ फिचरहरूको बारेमा पनि केहि सार्वजनिक भइसकेको छैन ।

आईफोन १३ बजारमा आउने वित्तिकै आईफोन १२ को मूल्य घट्ने निश्चित नै छ । यस्तोमा यदि आईफोन १३ ले तपाईंको अपेक्षालाई पुरा गर्न सकेन भने आईफोन १२ नै खरिद गर्नु उचित हुनेछ ।  साभार : टेकपाना डट. कमबाट  

Back to top