×

वीरगञ्ज, १० सावन । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको सेवा प्रभावकारी नभएको गुनासो बढेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैचा निवासी अमित अग्रवालले ६ महिनादेखि वल्र्डलिंकको सेवाका कारण परेशान भएको दुखेसो पोखे । विगत ३ वर्षदेखि जडान गरिएको इन्टरनेटमा सानातिना समस्याहरु देखिने गरेपनि अहिले ६ महिनादेखि भने कार्यालय धाउँदा धाउँदै समय बित्ने गरेको उनी बताउँछन् ।

नेपाल पत्रकार महासंघ पर्साका सदस्यसमेत रहेका अग्रवालले वर्षभरीको पैँसा शुरुमै लिने र इन्टरनेटको गती भरपर्दाे नहुनु कम्पनीकै कमजोरी भएको बताए ।

इन्टरनेट नचलेपछि कार्यालय जाँदा पनि कहिले आज गर्छु, कहिले भोली गर्छु तथा कहिले काठमाण्डौ फोन गर्नु लगायतका गैरजिम्मेवार जवाफ दिएर पठाउने गरेको अग्रवालको गुनासो छ । उनी भन्छन, ‘शुरु शुरुमा राम्रै सेवा दिने र ग्राहकलाई आकर्षक गरेर शुरुमै सबै पैँसा लिने र पछि लापरवाही गरेर नेट स्लो चल्ने तथा कहिले नचल्ने लगायतका समस्याहरु देखिने गरेका छन् ।

गुनासो गर्न जाँदा वल्र्डलिंकको वीरगञ्जस्थित कार्यालयमा पनि गुनासो गर्ने सेवाग्राहीको लाईन लाग्ने गरेको अग्रवालको भनाई छ । अग्रवाल प्रतिनीधिमुलक पात्र मात्रै हुन् ।

वल्र्डलिंकको नेटबाट अरु पनि थुपै सेवाग्राही पिडित छन् । वल्र्डलिंक वीरगञ्ज शाखाको फिल्ड सुपरभाइजर प्रदिप साहले भने अग्रवालको सवालमा कुनै समस्या नभएपनि समस्याको समाधान गर्ने प्रयास भइरहेको प्रतिक्रिया दिए । हरेक दिन गुनासोहरु आउने गरेको स्विकार गर्दै समस्याहरुको समाधान गर्ने काम भइरहेको बताए ।

साहले भने, ‘कहिले तार, कहिले राउटर, कहिले अन्य कुराहरुमा सामान्य समस्या आउनु स्वभाविक हो । तर समस्या भइसकेपछि हामीलाई जानकारी आएसम्म हामीले ढिलै भएपनि समाधान गरेकै छौँ ।’

Back to top